झन्डै ४ हजारको जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा खोजी र राहत जारी
काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ।
रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित क्षेत्रमा सेनाका नौ हजार तीन सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्। सेनाले हवाइ तथा स्थल मार्गमार्फत उद्धार कार्यलाई निरन्तरता दिएको छ।
नेपाली सेनाले आज दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट पाँच जनाको उद्धार गरेको छ। हालसम्म हवाई उद्धारबाट तीन हजार ६९२ स्वदेशी र २७५ विदेशी नागरीक गरी कुल तीन हजार ९६७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
उपचार सेवालाई प्रभावकारी बनाउन त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत ३ हजार २९८ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ भने आकस्मिक अवस्थाका लागि २० वटा अक्सिजन सिलिन्डर हवाइ मार्गबाट त्रिशूली पुर्याइएको छ।
पुल निर्माण र सडक खुलाउने प्रयास
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माण कार्यलाई तीव्रता दिएको छ। टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ।
त्यसैगरी मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत खोजी कार्य जारी राखिएको छ भने अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालन गर्न र राहत सामग्री ढुवानीलाई सहज बनाउन सेना परिचालन गरिएको छ।
विद्युत आयोजनाका सुरुङमा उच्च प्रविधिसहित खोजी
रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ।
त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङमा नेपाली सेनाका आठ जनाको टोली उद्धार उपकरणसहित खोज तथा उद्धार कार्यमा निरन्तर खटिएको छ।
त्रिशूली–३ बी आयोजनामा अडिट–२ बाट प्रवेश गरेको नेपाली सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ। साथै, अडिट–२ सुरुङबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटो सफा गर्ने कार्य भइरहेको छ।
चिलिमे हाइड्रोपावर आयोजनामा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउने काम गरिरहेको छ। टोली पावरहाउसबाट करिब ५०–६० मिटरको दूरीसम्म पुगेको छ । यस्तै, स्याफ्रुबेंसीमा स्लिङ अपरेसनमार्फत एक्स्काभेटर झारेर सुरुङ क्षेत्रमा लैजाने कार्य भइरहेको छ।
माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गर्ने तयारी गरेको छ।
उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।
भदौ २१, २०८३ आइतबार १७:५५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।