भोटेकोशी बाढी : कोरियाद्वारा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता, जलवायु न्यायका लागि सहकार्य गर्ने
काठमाडौं : नेपाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्रीहरूबीच आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र कोरियाली समकक्षी छो ह्युनबीच भएको उक्त छलफलमा भोटेकोशी नदीको बाढीपछिको खोज, उद्धार, राहत तथा पुनर्निर्माण र दुई देशको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको हो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा गणतन्त्र कोरिया सरकारप्रति हार्दिक आभार व्यक्त गरे। उनले बाढीपीडित नागरिकहरूका लागि गणतन्त्र कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति समेत धन्यवाद व्यक्त गरे।
विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने बताए।
भेटमा कोरियाली परराष्ट्रमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न कोरिया सरकार तयार रहेको प्रतिबद्धता जनाए।
जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरूले भोगेको क्षतिका विषयमा विश्व समुदाय संवेदनशील हुनुपर्ने बताउँदै उनले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप) लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको पक्षमा कोरियाले आवाज उठाउने र वित्तीय सहयोगका लागि पहल गर्ने आश्वासन दिए।
छलफलका क्रममा दुवै मन्त्रीहरूले नेपाल र कोरियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहकार्यलाई आगामी दिनमा अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
भदौ २१, २०८३ आइतबार १५:०१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।