सभापति गगनलाई भेटेर शेखर भने : ‘पार्टी एकताका लागि त्याग गर्न तयार छु’

सभापति गगनलाई भेटेर शेखर भने : ‘पार्टी एकताका लागि त्याग गर्न तयार छु’
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक एकता निर्णायक बिन्दुमा रहेको बेला नेता डा. शेखर कोइरालाले पार्टी सभापति गगन थापासँग भेटवार्ता गरेका छन्। 

संस्थापन पक्षले पार्टीको १५ औँ महाधिवेशनको तयारी अघि बढाउँदा संस्थापन इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका ल्याउने भनेको बेलामा उनीहरूबिच भेटवार्ता भयो।

पार्टीको आन्तरिक समस्या समाधानमा केन्द्रित रहेर आइतबार अपराह्न भएको उक्त भेटघाटमा उनीहरूबिच समसामयिक राजनीतिक अवस्था र बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लगायतका विषयमा छलफल भयो। 

सोही क्रममा कोइरालाले मुलुकको लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प नरहेको धारणा राखे। उनले पार्टी एकताका लागि आफ्नो तर्फबाट हुनुपर्ने जुनसुकै त्याग गर्न आफू तयार रहेको भनेको थिए।

जवाफमा सभापति थापाले आफू पनि पार्टीलाई एकीकृत र सशक्त बनाउने पक्षमा रहेको स्पष्ट पारे। दुई नेताबीच गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्याएको क्षति तथा त्यसपछिको पछिल्लो अवस्थाबारे पनि छलफल भएको नेता कोइरालाको सचिवालयले जनाएको छ।

भदौ २१, २०८३ आइतबार १४:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।