वीरगञ्जको क्यासिनोमा छापा : नेपालीलाई जुवा खेलाउने र खेल्ने ८ जना पक्राउ
पर्सा : वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।
जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ‘गोलडेन फिङ्गर गेमिङ जोन प्रालि’ क्यासिनोमा छापा मारेर जुवा खेलिरहेका चार जना ग्राहक र खेलाउन संलग्न चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठालाई नियन्त्रणमा लिएको छ।
त्यस्तै, स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन्।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
भदौ २१, २०८३ आइतबार १२:४९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।