भोटेकोशी बाढीमा मृतकको संख्या एक हजार ३४१ पुग्यो, चार हजार बढी बेपत्ता : डिएनए संकलन तीव्र

भोटेकोशी बाढीमा मृतकको संख्या एक हजार ३४१ पुग्यो, चार हजार बढी बेपत्ता : डिएनए संकलन तीव्र

काठमाडौं : भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३४१ पुगेको छ। नेपाल प्रहरीको आइतबार बिहान ७:४० बजेसम्मको अद्यावधिक विवरणअनुसार हालसम्म बाढीमा परेर चार हजार ४४ जना बेपत्ता छन्।

बेपत्ता हुनेहरूमा तीन हजार ४३८ नेपाली र ६०६ जना विदेशी नागरिक रहेका छन्। फेला परेका शवहरूमध्ये ५२३ पुरुष, ३२५ महिला र ४९३ आंशिक अङ्ग रहेको प्रहरीले जनाएको छ। जसमध्ये अहिलेसम्म ९८ शवको पहिचान गरेर आफन्तको जिम्मा लगाइएको छ भने पहिचान नभएका एक हजार ३७ वटा शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ।

हालसम्म कुल नौ हजार १५१ जनाको उद्धार गरिएको प्रहरीले छ। जसमा छ हजार ३१९ पुरुष, दुई हजार ७७८ महिला र ५४ जना खुलाउन नसकिएको संख्या रहेको छ। प्रभावितहरूमध्ये तीन हजार ९८ जना हाल होल्डिङ सेन्टरमा रहेका छन्।

मृतकको पहिचानका लागि डिएनए संकलनको कार्य भइरहेको छ। प्रहरीको विवरणअनुसार एक हजार २८६ मृतक र एक हजार १८६ मृतकका आफन्त गरी कुल दुई हजार ४७२ जनाको डिएनए संकलन गरिएको छ। 

भोटेकोशी नदीमा बाढी आएको १० औँ र ११ औँ दिनमा चार जनाको जीवितै उद्धार गरिएको छ। जसमा एक जना नुवाकोटको बाढीको भग्नावशेषबाट उद्धार गरिएको थियो भने बाकी तीन जनालाई जलविद्युत आयोजनाको टनेलबाट उद्धार गरिएको हो। टनेलबाट उद्धार गरिएका मध्ये एक चिनिया नागरिक हुन्।

भदौ २१, २०८३ आइतबार ०९:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।