काजकिरिया सुरु भइसकेकी महिला बाढीले पुरेको घरभित्र जीवित रहेको संकेत उद्धार टोलीले कसरी पायो?

काजकिरिया सुरु भइसकेकी महिला बाढीले पुरेको घरभित्र जीवित रहेको संकेत उद्धार टोलीले कसरी पायो?

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोजी गर्दा फेला नपरेपछि जीवित रहेको आशा मारेको परिवारले काजकिरिया सुरु गरिसकिएकी ६४ वर्षीया चण्डिका श्रेष्ठको ११ औँ दिनमा जीवितै उद्धार भयो।

नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित बाढीले पुरेको घरको भग्नावशेषबाट शनिबार दिउँसो सुरक्षाकर्मीको टोलीले श्रेष्ठलाई फेला पार्यो। भदौ १० गतेको बाढीले बेत्रावती बजारका अधिकांश घर संरचना पुरेको थियो। 

श्रेष्ठको खोजी गर्दा पनि फेला नपरेपछि परिवारले उनी जीवित रहेको आशा मारिसकेको थियो। अन्तमा कुशको शव बनाएर अन्तिम संस्कार गरी परिवारले काजकिरिया सुरु गर्यो।

"हामीले आठौं दिनसम्म धेरै खोज्यौं," सैनिक अस्पतालमा भेटिएका उनका आफन्त रमेशमान श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने, "कहीँ कतै नभेटेपछि सम्भव छैन भनेर आश मार्यौं।" 

बाढीले अधिकांश घर पुरेको बेत्रावतीमा उद्धार टोली समेत पुग्न नसकेपछि निराश भएको परिवारले आशा मारेपछि सबैको सल्लाहमा कुशको शव बनाएर काजकिरिया र दाहसंस्कार सुरु गरेको उनको भनाइ थियो।

यसरी भयो उद्धार
प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी जारी राखेको थियो। सोही क्रममा आनन्दलाल श्रेष्ठको चारतले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनियो। 

दर्नालका अनुसार पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ-बचाऊ’ भन्ने आवाज सुनिएको थियो। “त्यसपछि पर्खाल फुटाएर उहाँको उद्धार गर्न सफल भएका हौं”, उनले भने।

आनन्दलाल श्रेष्ठ उद्धार गरिएकी चन्द्रिकाका श्रीमान् हुन्। लेदो र गेग्रानले घरको चौथो तल्लाको आधा भागसम्म पुरेको अवस्थामा बाँकी रहेको भागबाट उनलाई निकालिएको थियो। अर्धअचेत अवस्थामा उनलाई घरबाट निकालिएको थियो।

अस्पतालमा उपचार जारी
उद्धार लगत्तै श्रेष्ठलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको उपचार भइरहेको छ। अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ। 

परीक्षण र उपचार चलेका कारण अहिले चण्डिकासँग भेट गर्न नपाएको उनका आफन्त रमेशमानले सुनाए। शनिबार नै माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गर्यो। उनी आयोजनाको अडिट-४ टनेलमा भेटिएका थिए। उद्धार टोलीले अन्य बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

भदौ २०, २०८३ शनिबार १९:३६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।