ह्याकर बनेर महिलालाई ब्ल्याकमेल गर्ने कमल काठमाडौंबाट पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमार्फत महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की दिएर रकम असुली गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका- १ घर भई हाल काठमाडौंको कीर्तिपुरस्थित सल्यानथान बस्ने २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बुढाले आफूलाई ह्याकर भएको बताउँदै एक महिलालाई सामाजिक सञ्जालमा सम्पर्क गरेका थिए।
उनले ती महिलाका व्यक्तिगत नग्न तस्बिर र भिडियोहरू आफूसँग सुरक्षित रहेको र रकम नदिएमा सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएका थिए। बुढाले महिला धम्क्याएर नौ लाख ९५ हजार रुपैयाँ असुल गरेको थापाले जानकारी दिए।
तस्बिर सार्वजनिक गर्ने डर देखाएर रकम असुली गरेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले बुढामाथि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
भदौ २०, २०८३ शनिबार १७:०९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।