सशस्त्र प्रहरीद्वारा कैलालीमा कटुवा पेस्तोल र चरेस बरामद

सशस्त्र प्रहरीद्वारा कैलालीमा कटुवा पेस्तोल र चरेस बरामद

कैलाली : कैलालीको कैलारी गाउँपालिका–७ पुरानो भुईयाँफाटाबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र करिब एक किलोग्राम चरेस बरामद गरेको छ।  

शनिबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुईयाँफाटाबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले उक्त हतियार तथा लागूऔषध बरामद गरेको हो।

बाटोको छेउमा रहेको झाडीमा मानिसहरू बोलेको आवाज सुनेपछि प्रहरीले टर्चलाइट बालेर हेर्दा केही व्यक्ति फरार भएका थिए। त्यसपछि उक्त स्थानमा खानतलासी गर्दा कालो प्लास्टिकले बेरेर  फालिएको अवस्थामा एक थान कटुवा पेस्तोल र करिब १ किलो चरेस फेला परेको गस्ती टोलीले जनाएको छ।

बरामद गरिएको पेस्तोल र चरेस आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए। 

भदौ २०, २०८३ शनिबार १७:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।