भोटेकोशी बाढीको ११ दिनपछि ६० वर्षीया चण्डिका श्रेष्ठको बेत्रावतीबाट जीवितै उद्धार

भोटेकोशी बाढीको ११ दिनपछि ६० वर्षीया चण्डिका श्रेष्ठको बेत्रावतीबाट जीवितै उद्धार

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११ औँ दिनमा नुवाकोटबाट एक ६० वर्षीया वृद्धाको जीवितै उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालको उद्धार टोलीले नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती इलाकाबाट बाढीमा फसेकी अन्दाजी ६० वर्षीया चण्डिका श्रेष्ठलाई शनिबार सकुशल उद्धार गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी निरीक्षक सुमन कुमार बि.क.को कमाण्डमा खटिएको विपद् उद्धार टोलीले ती वृद्धाको उद्धार गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता नेत्र कुमार कार्कीले जानकारी दिए।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी र कटानका कारण नदी तटीय क्षेत्रहरू जलमग्न र क्षतविक्षत भएका थिए। बाढीको तीव्र बहाव र विनाशका बीच लामो समयसम्म सम्पर्कविहीन रहेकी श्रेष्ठ बेत्रावती क्षेत्रमा बाढीको चपेटामा परेको अवस्थामा फेला परेकी हुन्।

बाढी आएको ११ दिनसम्म पनि उनी जीवितै फेला पर्नुलाई उद्धारकर्मीहरूले एउटा चामत्कारिक घटनाका रूपमा लिएका छन्।

लामो समयसम्म भोक, प्यास र बाढीको त्रासमा रहेका कारण उनको स्वास्थ्य अवस्था कमजोर देखिएको र उद्धारलगत्तै प्राथमिक उपचार गरी थप स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोट आसपासका तटीय बस्तीहरूमा ठूलो जनधनको क्षति पुर्याएको छ।

भदौ २०, २०८३ शनिबार १४:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।