माथिल्लो त्रिशूली-१ को सुरङबाट एक जनाको जीवितै उद्धार

माथिल्लो त्रिशूली-१ को सुरङबाट एक जनाको जीवितै उद्धार

काठमाडौं : रसुवा बाढीको ११ दिनपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक एक जना चिनियाँ नागरिकको सकुशल जीवितै उद्धार गरिएको छ।

आयोजनाको 'अडिट-४' टनेलबाट नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन (डिजास्टर) विज्ञ टोलीको संयुक्त प्रयासमा केहीबेर अघि ती विदेशी नागरिकलाई सकुशल उद्धार गरीएको हो। सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी गराएको छ।

उद्धार गरिएका चिनियाँ नागरिकलाई थप उपचार तथा व्यवस्थापनका लागि नुवाकोटको त्रिशूलीस्थित मैबल ब्यारेकमा लगिँदैछ।

यसअघि शुक्रबार पनि त्रिशूली-३ ‘ए’ बाट दुई जनाको जीवितै उद्धार गरीएको थियो।

सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालित छन्।

भोटेकोशीमा गत भदौ १० गते गएको बाढीको कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेको उल्लेख छ। तीमध्ये हालसम्म ८७६ जनाको उद्धार भएको आयोजना पक्षले जनाएको छ।

भदौ २०, २०८३ शनिबार १३:५१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।