बाढीमा हराइरहेका व्यक्तिको पहिचानका लागि नुवाकोटमा डिएनए नमुना सङ्कलन केन्द्र

बाढीमा हराइरहेका व्यक्तिको पहिचानका लागि नुवाकोटमा डिएनए नमुना सङ्कलन केन्द्र

त्रिशूली : बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटको विदुरमा डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए) नमुना सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ।

यसअघि नमुना दिन काठमाडौं जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन जिल्लामै केन्द्र स्थापना गरिएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक (डिआइजी) डा. दामोदर पौडेलले जानकारी दिए।

उनका अनुसार बाढीमा फेला परेका शव पहिचानमा समस्या भएपछि परिवारका सदस्यको डिएनए परीक्षण गर्न लागिएको हो।

डिएनए परीक्षणका लागि हराइरहेका व्यक्तिका सबैभन्दा नजिकका नातेदार (बुबा, आमा, छोरा वा छोरी) मध्ये कुनै एक जनाको नमुना लिइनेछ।

शवको डिएनएसँग तुलना गर्न रगतको प्रत्यक्ष नाता बढी उपयोगी हुने भएकाले पहिलो प्राथमिकता बुबाआमा वा सन्तानलाई दिइएको र त्यो सम्भव नभए मात्र अन्य नजिकका आफन्तको नमुना लिइने डा. पौडेलले बताए।

नमुना दिन आउँदा दुईप्रति फोटोसहित परिचय खुल्ने सरकारी कागजात लिएर आउन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले आग्रह गरे। बालबालिकाको हकमा भने जन्मदर्ता वा विद्यालयको परिचयपत्र भए पुग्ने उनले जानकारी दिए।

एसपी रेग्मीका अनुसार बाढीमा परेर आफन्त हराएको भन्दै जिल्लामा दुई हजार ५६४ वटा निवेदन दर्ता भएका छन्। हालसम्म १९२ वटा शव फेला परे पनि १८ जनाको मात्र सनाखत हुन सकेको छ।

बाँकी शवको पहिचान गरी परिवारलाई बुझाउन डिएनए परीक्षण प्रक्रियालाई तीव्रता दिइएको उनले बताए।

भदौ २०, २०८३ शनिबार १२:०६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।