कार्बन उत्सर्जन गर्ने औद्योगिक राष्ट्रले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्छ : शंकर पोखरेल

कार्बन उत्सर्जन गर्ने औद्योगिक राष्ट्रले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्छ : शंकर पोखरेल

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले विकसित तथा औद्योगिक राष्ट्रहरूले सिर्जना गरेको जलवायु परिवर्तनको नकारात्मक असरका कारण नेपालले व्यहोरेको क्षतिको क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्।

एमाले विशेष संगठन कमिटीले शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रहरू र आणविक भट्टीबाट हुने अत्यधिक कार्बन उत्सर्जनको मार नेपालजस्ता विकासोन्मुख देशहरूले खेप्नुपरेको बताए।

"विकसित देशहरूले ठुला ठुला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सर्जन गरे त्यसको मार हामीजस्ता विकाशिल देशहरूले भोग्नु परेको छ", पोखरेलले भने "हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरूले तिनुपर्दछ। यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनु पर्दछ।"

भोटेकोशी तथा रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूसहितको टोलीले स्थलगत निरीक्षण गरिसकेको जानकारी दिँदै उनले एमाले पीडितहरूको उद्धार, राहत र पुनस्थापनामा अहोरात्र खटिरहेको बताए। विगतका महाविपत्तिहरूमा उद्धार र पुननिर्माणको राम्रो अनुभव भएका नेता-कार्यकर्ताहरू परिचालन गरिएको र सरकारले अघि बढाउने पुननिर्माण तथा पुनस्थापनाका कार्यमा एमालेले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए।

"विगतका विपत्तिमा पनि उद्धार, राहत, पुनस्थापना र पुन निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता कार्यकर्ताहरू हुनुहुन्छ", पोखरेलले भने, "त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढी पीडित क्षेत्रमा प्रयोग गर्छौ। सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ।"

भदौ २०, २०८३ शनिबार ११:५७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।