मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहको सहकार्य आवश्यक : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औं राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानव सभ्यताकै कलङ्क र विश्वव्यापी सङ्गठित अपराध भएको उल्लेख गरे।
यस वर्ष यो दिवस ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइँदै छ।
प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको भन्दै उनले यसको रोकथामका लागि नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकता दिएको स्पष्ट पारे।
उनका अनुसार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन विधेयक संसद्मा दर्ता गरिएको छ।
यसबाट अन्तर्राष्ट्रिय स्तरमा पीडितको मानव अधिकार संरक्षण गर्न तथा राज्यहरूबीच आपसी सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ।
विद्यमान संयन्त्रलाई सङ्घीय संरचनाअनुरूप ढाल्दै मानव बेचबिखनविरुद्धको नयाँ नीति कार्यान्वयनमा ल्याइएको जानकारी पनि उनले दिए।
“हाम्रो साझा पहल र संयुक्त प्रयासबाट मात्र मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सम्भव छ”, प्रधानमन्त्री शाहले सन्देशमा भने।
उनले यस अभियानमा निरन्तर जुट्ने तीनै तहका सरकार, गैरसरकारी संस्था, विकास साझेदार र सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै निरन्तर ऐक्यबद्धताका लागि आह्वान गरे।
भदौ २०, २०८३ शनिबार ११:४१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।