भोटेकोशी बाढीमा भारतीय मूलका चार अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी भारतीय मूलका चार जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन भएका छन्। धुञ्चे हुँदै मानसरोवर जाने क्रममा उनीहरू बाढीपछि बेपत्ता भएका हुन्।
सम्पर्कविहीन हुनेहरूमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मी श्रीधरण अयर, २३ वर्षीय रिसब श्रीधरण अयर र २१ वर्षीय रुद्र श्रीधरण अयर छन्।
भारतको केरलाबाट आफन्तको खोजीमा रसुवा आइपुग्नुभएका रञ्जित श्रीधरणले परिवारका सदस्यहरूको खोजी गरिदिन अपिल गरेका छन्।
उनका अनुसार हराइरहेका आफन्तको मोबाइलको अन्तिम ‘लोकेसन’ स्याफ्रुबेँसीस्थित रोयल हिमालयन होटल देखिएको थियो।
“सम्पर्कविहीन भएका चारै जनाबारे अझै कुनै जानकारी पाउन सकेका छैनौँ,” रञ्जितले भने, “आफन्तको अवस्था अज्ञात हुँदा हामी विक्षिप्त बनेका छौँ। सम्बन्धित सबै निकायलाई खोजीमा सहयोग गरिदिन अनुरोध गर्दछौँ।”
यसैबीच, नेपाल टेलिकम रसुवाका प्राविधिक नन्दकुमार कोइरालाले पनि बेपत्ता अस्ट्रेलियाली नागरिकको खोजीमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्।
उनले स्थानीयस्तरमा आफन्तलाई आवश्यक समन्वय र खोजी कार्यमा सहजीकरण गरिरहेको जानकारी दिए।
भदौ २०, २०८३ शनिबार ११:२५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।