स्याङ्जामा १८ महिनामा बन्नुपर्ने आयुर्वेद औषधालय ५ वर्ष बित्दा पनि अधुरै
स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माणको काम लामो समयदेखि अलपत्र परेको छ। १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ५ वर्षअघि सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन अझै अलपत्र बनेको हो।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरामार्फत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग यो भवन निर्माणको सम्झौता भएको थियो। तर, हालसम्म भवनको आधा मात्र काम सकिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालले जानकारी दिए।
कार्यालयले तोकिएको समयमा काम पूरा नभएपछि ठेक्का तोड्ने आशयको सूचना जारी गरिसकेको छ। भदौ अन्तिमसम्म पनि काममा तदारुकता नदेखाएमा ठेक्का सम्झौता रद्द गरिने इन्जिनियर लम्सालले बताए।
“सकेसम्म निर्माण गरिरहेको कम्पनीबाट भवन सम्पन्न होस् भन्ने कार्यालयको चाहना हो”, उनले भने, “निरन्तर रूपमा काम गरेको खण्डमा समय धेरै लाग्ने थिएन, अब आधाजसो काम बाँकी छ।”
स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको छ। यहाँका स्थानीय तथा जनप्रतिनिधिले पटकपटक निर्माणलाई तीव्रता दिन अनुरोध गरे पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले बताए।
“हजारौँ नागरिकले स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने उद्देश्यले स्थापना भएको औषधालय निर्माण व्यवसायीको लापरबाहीले अलपत्र बनेको छ”, उनले भने “समयमै सक्न अनुरोध गर्दै आएका छौँ। केही समस्या भए समाधानमा हामी जनप्रतिनिधि तथा स्थानीयवासी पनि लाग्ने भनिरहेका छौँ तर काम भएन।”
समयमा भवन निर्माण सम्पन्न नहुँदा कार्यालय भाडामा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताए।
“ठाउँको अभाव हुँदा औषधालयले प्रदान गर्ने सेवा बन्द अवस्थामा छन्, सबै सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन”, उनले भने, “औषधालयमा गराउनुपर्ने मेडिकल योगा, शिरोधारासहित औषधि निर्माणाधीन भवनका कारण अहिले ठप्प छ।”
उनका अनुसार अहिले औषधालयले सामान्य सेवा, औषधोपचार तथा परामर्शका कामहरू मात्र सञ्चालन गर्दै आएको छ।
भदौ २०, २०८३ शनिबार ११:३४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।