पहिरो र बाढीका कारण देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, नेपाल प्रहरीद्वारा सजग रहन आग्रह
काठमाडौं : अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका-२ चिसापानीमा गएको पहिरोका कारण अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ।
बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने जनाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ्ग-स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। शिवपुरी गाउँपालिका- ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो।
त्यसैगरी पसाङ ल्हामु सडक खण्डको वेत्रावति नगरपालिका १० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।
धादिङको पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका-०७ कृष्ण भिरमा पहिरोका कारण बाटो पूर्ण अवरुद्ध छ। गजुरी गाउँपालिका-०२ परेवा भिरमा सानो गाडी मात्र एक लेनमा सुचारु छ भने बेनिघाट रोराङ-१० ज्वाडखोला र थाक्रे-२ कमेरेभिरमा एकतर्फी सुचारु रहेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा गएको पहिरका कारण बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका-०४ ताल्चामा पहिरो जाँदा मुगु-गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।
रोल्पाको परिवर्तन गाउँपालिका-६ दुईखोलि बजारको घोराहि थवाङ सहिद मार्ग र परिवर्तन गाउँपालिका-३ भालखोरको शहिदमार्गमा पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-२ बालसिद्ध मन्दिर नजिक पहिरो जाँदा सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बझाङको बित्थडचिर गाउँपालिका-०१ पहिरा स्थित जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ।
सडक विभाग तथा प्रहरीको टोली पहिरो पन्छाएर यातायात पुनः सुचारु गराउन खटिएका छन्। यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको प्रहरी वा सडक निकायसँग सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न र बैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।
भदौ २०, २०८३ शनिबार १०:१९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।