पर्सामा कारभित्र लुकाएको ११४ किलो गाँजासहित धादिङका युवक पक्राउ
पर्सा : पर्साको पकहामैनपुर गाउँपालिकाबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
कारको डिकीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ११४ किलो २५ ग्राम गाँजासहित धादिङका एक युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-८ का २१ वर्षीय साजन चेपाङ रहेका छन्।
प्रहरीका अनुसार शुक्रबार राति करिब पौने ९ बजे पकहामैनपुर गाउँपालिका-१, धोरेस्थित तिलाईपुल-भिष्वा सडकखण्डबाट उक्त गाँजा बरामद भएको हो।
प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले सवारीसाधन जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो।
तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निसान कारलाई रोकेर जाँच गर्दा डिकीभित्र प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए।
शङ्का लागेर ती पोकाहरू खोल्दा प्लाष्टिकसहित कुल ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा फेला परेपछि कार चालक चेपाङलाई तत्कालै नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका चेपाङ, बरामद भएको गाँजा र कारलाई नियन्त्रणमा राखेर लागुऔषध ओसारपसारको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
भदौ २०, २०८३ शनिबार १०:१२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।