दिदीबहिनीको हातमा पुगेन भिडियो कलमा देखाएको तीजको उपहार, कुशको शवसँगै जल्यो गोविन्दको मुरली

दिदीबहिनीको हातमा पुगेन भिडियो कलमा देखाएको तीजको उपहार, कुशको शवसँगै जल्यो गोविन्दको मुरली
एआईको सहयोगमा बनाइएको तस्बिर

कास्की : रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा-१४, समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो। आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा उनी थिए।

भदौ ९ गते साँझ भिडियो कलमा किनेका कपडा देखाउँदै ‘यो कलर कस्तो छ?’ भनी सोध्दा उनको अनुहारमा उल्लास थियो। उनले परिवार र दिदीबहिनीसँग त्यसरी नै खुसी साटेका थिए।

तर, दिदीबहिनीलाई उपहार दिने र परिवारसँगै चाड मनाउने उनको त्यो सपना सधैँका लागि अधुरै रह्यो।

टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भए। त्यसयता उनको अवस्था अज्ञात छ।

घटनाबाट ज्यान जोगाएर फर्किन सफल सहकर्मीका अनुसार बाढी आउनुअघि उनी अन्य साथीहरूसँगै कार्यालयकै काममा खटिएका थिए। सोही बाढीमा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए।

पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएका उनी यसबीचमा दुई पटक घर आएका थिए। परिवारका सदस्य उनी फेरि सकुशल घर फर्किन्छन् भन्ने आशामा बाटो हेरेर बसे, तर उनको कुनै खबर आएन।

बाढी आएको दिन बिहानसम्म गोविन्द परिवारको सम्पर्कमै थिए। त्यसपछि भने उनीसँग कुनै सम्पर्क हुन सकेन। परिवारले पटक-पटक उनको मोबाइलमा फोन गर्यो।

विभिन्न ठाउँमा बुझ्नुका साथै अस्पताल र शव राखिएका स्थानमा समेत खोजी गर्यो। सुरुमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुन सक्ने भन्दै परिवारले उनी सकुशल फर्किने आशा मारेको थिएन।

तर, बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको अन्तिम आशा पनि टुट्यो। लामो समयसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले हिन्दु संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गर्दै काजकिरिया सुरू गरे।

छोरा विनय अधिकारीले बाढी आएको दिन बिहानसम्म बुबासँग सम्पर्क रहे पनि त्यसपछि कुराकानी हुन नसकेको बताए।

सुस्त आवाजमा उनले भने, “बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ। तर, केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन।”

बुबा बेपत्ता भएपछि कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने झिनो आशामा विभिन्न अस्पताल र सम्भावित स्थानमा खोजी गरेको विनयले सुनाए।

“धादिङमा भेटिएको एउटा शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी त्यहाँसम्म गयौँ,” विनयले भने, “तर, हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो।”

उनका छिमेकी एवं मिल्ने साथी रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले गोविन्द सम्पर्कविहीन भएदेखि नै समावेशी टोलमा सन्नाटा छाएको बताए।

सहयोगी, मिलनसार र सामाजिक स्वभावका उनी बेपत्ता भएपछि टोलवासी निरन्तर खोजीमा जुटेका थिए। शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उनले बताए।

“जागिरका क्रममा उहाँ टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो। टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो। कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो। साथीलाई घटेको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ”, बरालले दुःख व्यक्त गरे।

सामाजिक कार्यमा सक्रिय गोविन्द गीत-सङ्गीतमा पनि उत्तिकै रुचि राख्थे। समावेशी टोलको सहसचिवका रूपमा उनले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको अर्को विशेष परिचय थियो- मुरलीको मधुर धुन।

विशेषगरी साथीभाइ जम्मा भएका बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उनको कला टोलवासीका लागि अहिले केवल सम्झना बनेको छ।

छिमेकी घनश्याम पाण्डेका अनुसार उनी घरमा हुँदा मुरली कहिल्यै छुटाउँदैनथे।

पाण्डेले भने, “साथीभाइ जम्मा हुनेबित्तिकै उहाँ मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो। उहाँ घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ। अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ।”

तनहुँको तत्कालीन मिजुङ गाविस (हाल भानु नगरपालिका-५) स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ। उनका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी छन्।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका अझै १२ जना सम्पर्कविहीन छन्। बेपत्ता भएकाहरूको अझै अत्तोपत्तो नलाग्दा परिवारजन प्रिय मान्छे फर्किने झिनो आशमा बाटो हेरिरहेका छन्।

बाढीपछि सम्पर्कविहीन भएकामध्ये तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। अन्यको अवस्था भने हालसम्म अज्ञात छ।

भदौ २०, २०८३ शनिबार ०८:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।