देशैभरी मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातसमेत हुन सक्नेछ।
यसैगरी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। देशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
रातिको समयमा विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भदौ २०, २०८३ शनिबार ०७:२१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।