खाजा खर्च बचाउँदै नेपाल पुलिस स्कुलका विद्यार्थीले जुटाए भोटेकोशी बाढीपीडितका लागि सहयोग
काठमाडौं : चितवनको शान्तिपुरस्थित नेपाल पुलिस स्कुलका विद्यार्थीहरूले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ९५ हजार ७ सय ८३ रुपैयाँ सहयोग संकलन गरेका छन्।
विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर तथा शिक्षक-कर्मचारीले एक दिनको पारिश्रमिक बराबरको रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न विद्यालय प्रशासनलाई बुझाएका हुन्।
संकलित कुल रकममध्ये कक्षा १ देखि १० सम्मका ७ सय विद्यार्थीबाट ४७ हजार ८ सय ६० रुपैयाँ संकलन भयो भने ४० जना शिक्षक तथा कर्मचारीले एक दिनको तलब बापत ४२ हजार ९ सय २३ रुपैयाँ र अभिभावकहरूबाट ५ हजार रुपैयाँ संकलन गरिएको थियो।
बाढी प्रभावितहरूलाई मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले विद्यालयका विभिन्न क्लबमा आबद्ध विद्यार्थीहरूको सक्रियतामा विद्यार्थीहरूले खाजा खर्च बचत गर्नुका साथै शिक्षक र अभिभावकहरूलाई समेत सहयोगका लागि अपिल गरेका थिए।
विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले विद्यार्थीले संकलन गरेको रकम छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा बताए। नेपाल पुलिस स्कुलले विपद् जोखिम न्यूनीकरण, सुरक्षा सचेतना र सामाजिक व्यवहारका विषयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।
भदौ १८, २०८३ बिहीबार १८:५३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।