रसुवाको उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिइने

रसुवाको उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिइने

रसुवा : रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई उनीहरू बसोबास गरिरहेकै होल्डिङ सेन्टरबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण कागजात गुमाएका र हाल नुवाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका प्रभावितहरूका लागि यो सेवा सुरु गरिएको हो। बाढीबाट प्रभावित जनताको राहत, पुनःस्थापना तथा प्रशासनिक काममा ढिलाइ नहोस् भन्ने उद्देश्यले अस्थायी बसोबासस्थलमै पुगेर आवेदन सङ्कलन थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए। 

प्रजिअ पाण्डेका अनुसार नुवाकोटको पिपलटारस्थित होल्डिङ सेन्टरमा बसोबास गरिरहेका उत्तरगया–१ का २०२ जना बाढी प्रभावितको नागरिकता प्रतिलिपिको आवेदन फाराम सङ्कलन गरी आइतबार सदरमुकाम धुन्चे ल्याइएको छ। सङ्कलित फारामको अध्ययन तथा प्रमाणीकरण पूरा भएपछि तयार पारिएका नागरिकताका प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर हस्तान्तरण गरिनेछ।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका प्रमु्ख माधव अर्यालले जानकारी दिए। प्रमुख अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ।

कात्तिक ९, २०८३ सोमबार १२:१६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।