तीन वर्षभित्र आठ शहरमा फ्लडलाइटसहितको रंगशाला बनाइन्छ : पूर्वाधार मन्त्री लम्साल

तीन वर्षभित्र आठ शहरमा फ्लडलाइटसहितको रंगशाला बनाइन्छ : पूर्वाधार मन्त्री लम्साल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) लाई भविष्यमा ‘होम एन्ड अवे’का आधारमा देशैभर सञ्चालन गर्न सकिने गरी सरकारले आठ प्रमुख शहरहरूमा आधुनिक क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाएको छ।

पूर्वाधार विकास मन्त्री इन्जिनियर सुनिल लम्सालले आजदेखि सुरु भएको एनपीएलको तेस्रो संस्करणको अवसरमा शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत मन्त्रालयको यस्तो योजना सार्वजनिक गरेका हुन्।

मन्त्री लम्सालका अनुसार देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमता भएका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले औपचारिक रूपमा अगाडि बढाएको छ। उक्त पूर्वाधारहरू आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ।

“चाडपर्वहरूका बीच नेपाली क्रिकेटको पर्व, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ,” मन्त्री लम्सालले लेखेका छन्, “‘होम एन्ड अवे’ आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख शहरहरूमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ।”

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यो योजनाले एनपीएललाई राजधानीबाहिर देशभर विस्तार गर्न र नेपाली क्रिकेटको समग्र विकासमा नयाँ आयाम थप्ने विश्वास मन्त्री लम्सालले व्यक्त गरेका छन्।

भौतिक पूर्वाधारको योजनासँगै उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक नीतिगत तथा प्राविधिक तयारी थाल्न आग्रह गरेका छन्।

“यस योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ। क्रिकेट संघ (क्यान) ले पनि सोहीअनुरूप आवश्यक तयारी अघि बढाओस्,” उनले उल्लेख गरेका छन्।

हाल एनपीएलका सम्पूर्ण खेलहरू काठमाडौंस्थित कीर्तिपुर मैदानमा मात्र सीमित रहँदै आएको पृष्ठभूमिमा मन्त्रालयले आठवटै फ्रेन्चाइज टोलीको प्रतिनिधित्व हुने गरी मोफसलका प्रमुख सहरहरूमा अन्तर्राष्ट्रिय मापदण्डका रंगशाला बनाउने योजना अघि सारेको हो।

कात्तिक ९, २०८३ सोमबार १२:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।