जनता मन्त्रीलाई भेट्न आउने होइन, मन्त्री आफैँ जनताकहाँ जानुपर्छ: मन्त्री रावल
चितवन : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रावलले भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरिरहेका कामबारे जानकारी दिन र जनताका समस्या प्रत्यक्ष सुन्न आफू जिल्ला आएको बताइन्।
सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन्। समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन्।
मन्त्री रावलले भनिन्, “धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ। छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ।” बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन्।
मन्त्री रावलले भनिन्, “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ?, आगामी कार्ययोजना के छ? भन्नेबारे जनतालाई बताउनुपर्ने छ। उहाँहरु त्यो सुन्न आतुर हुनुहुन्छ।”
त्यस्तै भूमिहीनका समस्याबारे बोल्दै मन्त्री रावलले लामो समयदेखि बसोबास गर्दै आएको ठाउँबाट कसैलाई नहटाइने स्पष्ट पारिन्। अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको बताउँदै उनले भनिन्, “त्यस्तो हुँदैन। हामीले काम गरिरहेका छौँ। कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ।
मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन्।
उनले भनिन्, “जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौँ। कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ।”
कात्तिक ९, २०८३ सोमबार १२:२९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।