त्रिशूली-३ ‘ए’मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ।
नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्कामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका छन्।
सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो थुप्रो (डेब्रिस)मा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूलठूला ढुङ्गाहरू छन्। दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पन्छ्याएर सुरुङको माथिल्लो भागतर्फ १० फिट लम्बाइ र ४ फिट उचाइ जति मुख खोलिएको नेपाली सेनाले जनाएको छ।
आयोजना स्थलमा रहेका सांसद श्रीराम न्यौपानेका अनुसार सेनाले सुरुङभित्र छिरेर माटो सोहोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ। एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य पनि जारी छ। थप ७ वटा बोल्डर (ठूला ढुङ्गा) ब्लास्टिङका लागि तयारी पनि भइरहेको छ।
यो सुरुङ १७० मिटर जति लम्बाइको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावर हाउसलगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ।
भदौ १८, २०८३ बिहीबार १८:१८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।