मन्त्रिपरिषद् बैठक : भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा
काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि भएको छ। उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो।
त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए।
गत वर्ष भदौ २३ गते काठमाडौं लगागत देशभर भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले जेनजी शहीद दिवस मनाउने निर्णय यसअघि नै गरेको थियो।
भदौ १८, २०८३ बिहीबार १७:२५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।