‘ग्रिन आर्मी’बारे संसद्मा उठ्यो प्रश्न, छानबिन गर्न रास्वपा सांसदको माग
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले ‘हरियो सेना’ (ग्रीन आर्मी) भनिएको संस्थाको गतिविधिबारे छानबिन गर्न सरकारसँग माग गरे।
भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार र राहतका लागि झन्डै सेनाको जस्तै देखिने पोशाकमा आफूलाई‘ग्रिन आर्मी नेपाल’ भन्ने संस्थाका स्वयंसेवकहरू खटिएपछि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भण्डारीले त्यसबारेमा प्रश्न उठाए।
उनले भनेका थिए, "यो हरियो सेना भनेको के हो? यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु।" बाढी प्रभावित नागरिकहरूको अवस्था कष्टकर रहेको उल्लेख गर्दै भण्डारीले त्यस बारेमा सरकारको ध्यानाकर्षण गराए।
"विपत्मा परेका परिवारको घरमा ग्यास पनि छैन, पैसा पनि छैन, अभाव छ। काठमाडौंमा पनि उहाँहरू कसरी बाँच्ने भन्ने छ। यसका लागि सरकारले अविलम्ब ध्यान देओस्," उनले भने।
उकेरालाई प्राप्त विवरणअनुसार ‘मुनाफा वितरण नगर्ने कम्पनी’को रूपमा कम्पनी रजिस्ट्रारको कार्यालय र समाज कल्याणमा ‘ग्रिन आर्मी नेपाल’ दर्ता भएको देखिन्छ। यसको प्रमुख सल्लाहकारमा पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल देखिए।
सेनाको झल्को दिनेगरी संस्थाका पदको नामकरण गरिएको ‘ग्रिन आर्मी नेपाल’को ‘फाउन्डर एन्ड चिफ मार्सल’ भनेर सविन शर्माको नाम वेबसाइटमा उल्लेख गरिएको छ। वातावरण संरक्षण र विपद् व्यवस्थापनका लागि २०७२ को भूकम्पपछि संस्था स्थापना गरिएको दाबी गरिएको छ।
सैनिकको जस्तो पोशाक लगाएर ‘ग्रिन आर्मी नेपाल’ पहिचानबाट नुवाकोट र धादिङको विपद् प्रभावित क्षेत्रमा संस्थाका स्वयंसेवक खटिएपछि कहाँको सेना आयो भनेर स्थानीय अन्योलमा परेका थिए। त्यसपछि यस संस्थाको विषयमा चासो सुरु भएको थियो। सरकारी निकायबाट अनुमति लिएरै उनीहरूले पोशाक प्रयोग गरिएको बताइन्छ।
यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले सेनाको नाममा संस्थाहरू खोलिन नहुने भनेर साउन १९ गते बसेको प्रतिनिधिसभा बैठकमा विषय प्रवेश गराएका थिए।
त्यतिबेला कोशी प्रदेशको सुनसरीको देवानगञ्ज नगरपालिका- ३ कप्तानगञ्जमा सुरु भएको विवाद मधेस प्रदेशसम्म फैलिएपछि स्थिति सम्हाल्न खटिएका गृहमन्त्री सुधन गुरुङले ‘हिन्दु सम्राट सेना’सँग वार्ता गरेको प्रसंग कोट्याउँदै हर्कले सेनाका नाममा गठन हुने कुनै पनि संस्था वैध नहुने भनेका थिए।
भदौ १८, २०८३ बिहीबार १६:५३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।