सुरुङबाट उद्धारबारे प्रधानमन्त्री वालेन्द्रको दाबीमाथि खातुनको प्रश्न : 'चिली, थाइल्याण्ड र भारतमा सम्भव भयो, नेपालमा किन भएन?'

सुरुङबाट उद्धारबारे प्रधानमन्त्री वालेन्द्रको दाबीमाथि खातुनको प्रश्न : 'चिली, थाइल्याण्ड र भारतमा सम्भव भयो, नेपालमा किन भएन?'

काठमाडौं : प्रतिनिधिसभा सदस्य शहजन खातुनले सुरुङभित्र फसेका नागरिकको उद्धारका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति तथ्यपरक नभएको दाबी गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले विश्वका सफल उद्धारका उदाहरणहरू प्रस्तुत गर्दै सरकारलाई बहु-योजनायुक्त उद्धार रणनीति (मल्टिपल प्लान रेस्क्यु स्ट्राटेजी) अपनाउन आग्रह गरिन्।

भोटेकोशी-त्रिशुली क्षेत्रमा विनाशकारी बाढी आएको आठौं दिन बितिसक्दा पनि सुरुङमा फसेका नागरिकको अवस्था अज्ञात रहेको भन्दै खातुनले भनिन्, "संसारमा यस्तो प्रविधि र उदाहरण छैन भन्नु तथ्यसँग मेल खाँदैन।"

सांसद खातुनले चिली (सन् २०१०)मा ड्रिलिङ्ग र रेस्क्यु क्याप्सुल प्रयोग गरी ३३ खानी मजदुरको जीवितै उद्धार, थाइल्याण्ड (सन् २०१८)मा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोगमा गुफामा फसेका १३ जनाको उद्धार र भारत (सन् २०२३) मा उत्तराखण्डको सिल्क्यारा सुरुङमा १७ दिनसम्म फसेका ४१ मजदुरको सफल उद्धार गरिएको घटनलाई उदाहरणको रूपमा प्रस्तुत गरिन्।

एउटा मात्र योजना जोखिमपूर्ण हुने भएकोले सरकारलाई एउटै योजनामा सीमित नभई विकल्पसहितको उद्धार प्रक्रियामा जान उनको सुझाव छ। उनले भनिन्, "प्रश्न संसारमा प्रविधि छ कि छैन भन्ने होइन। हामीले विश्वका सफल उद्धारबाट सिक्नुपर्छ।"

पीडित परिवारले अझैसम्म आफ्ना मानिसको अवस्थाबारे स्पष्ट जवाफ नपाउनु दुःखद भएको उनले बताइन्। खातुनले भनिन्, "सुरुङभित्र फसेका भनिएका हाम्रा नागरिक कहाँ छन्? जीवित छन् कि छैनन्? परिवारले पनि अझै स्पष्ट जवाफ पाएको छैन।" 

भदौ १८, २०८३ बिहीबार १५:३१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।