‘अन्तरिक्षमा पुगेर खोज गर्ने युगमा सुरुङबाट नागरिक निकाल्ने प्रविधि छैन भन्नु लज्जाजनक’
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सुरुङमा फसेका नागरिकहरूको उद्धार कार्यमा सरकारले देखाएको उदासीनता र समन्वय अभावप्रति संसद्मा प्रश्न उठाएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले आधुनिक प्रविधिको युगमा उद्धार सामग्री नभएको भनी सरकार पन्छिन खोजेको बताइन्।
शर्माले अन्तरिक्षमा पुगेर जीव विज्ञानको खोजी गर्ने आजको समयमा सामान्य सुरुङबाट नागरिकको उद्धार गर्ने प्रविधि छैन भन्नु प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति ‘झुट र लज्जाजनक’ भएको टिप्पणी गरिन्।
उनले भनिन्, "अन्तरिक्षमा समेत गएर जीव विज्ञानको खोजी गर्ने आजको युगमा एउटा मामुली सुरुङमा नागरिकहरूको उद्धार गर्ने प्रविधि छैन भन्ने प्रधानमन्त्रीका अभिव्यक्ति सरासर झुट र लज्जाजनक भएन र, सभामुख महोदय ?"
उद्धारका लागि विदेशी विज्ञ र प्राविधिकहरूले सहयोगको प्रस्ताव गर्दा पनि सरकारले पाँच दिनसम्म अनुमति नदिएको भन्दै शर्माले ढिलासुस्तीको कारण माग गरिन्। "विदेशी विज्ञ र प्राविधिकले नेपाल आएर सहयोग गर्छौं भन्दा किन पाँच दिनसम्म अनुमति दिइएन ? अहिले सकिएन भनेर किन हात ठड्याउँदै छ ? जनताको पीडादायी जीवन र फेसबुक प्रचार एउटै होइन," उनले भनिन्।
उद्धार कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मीको भूमिकाको भने प्रशंसा गर्दै शर्माले मन्त्री र सांसदहरू घटनास्थल पुगेर स्थानीय तहका पदाधिकारीलाई हप्काउने तथा सामाजिक सञ्जालका लागि ‘कन्टेन्ट’ बनाउने र ‘स्टन्ट’ गर्ने कार्यमा केन्द्रित भएको आरोप लगाइन्।
उनले सोधिन्, "सरकारले खोइ स्थानीय सरकारसँग समन्वय गरेर काम गरेको ?"
भदौ १८, २०८३ बिहीबार १४:५५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।