बाढी प्रभावित क्षेत्रबाट बल्छी धुर्बेले भने, ‘सरकारको राहत कतै देखिएन, एकद्वार नीतिले पीडित भोकै परे’

बाढी प्रभावित क्षेत्रबाट बल्छी धुर्बेले भने, ‘सरकारको राहत कतै देखिएन, एकद्वार नीतिले पीडित भोकै परे’

काठमाडौं : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर पुगेका चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले सरकारी राहत वितरण प्रणालीप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

तीन दिनदेखि प्रभावित क्षेत्रमै खटिएका उनले सरकारको राहत कतै नदेखिएको र एकद्वार नीतिका कारण वास्तविक पीडितसम्म सहयोग पुग्न नसकेको बताएका छन्।

मरिचमान श्रेष्ठ र टेलिशृङ्खला ‘जुठे’ तथा ‘हल्का रमाइलो’को कलाकार टोली यतिबेला नुवाकोट र रसुवाका बाढी प्रभावित बस्तीहरूमा पुगेर प्रत्यक्ष राहत वितरण गरिरहेको छ।

टोलीले सोमबार नुवाकोटको विदुरमा २० परिवारलाई राहत बाँडेको थियो। यसअघि त्रिशूली-११, गेर्खु तथा विदुर-२ का ३० भन्दा बढी विस्थापित परिवारलाई लत्ताकपडा, खाद्यान्न तथा बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरिएको मरिचमानले जानकारी दिए।

बुधबार पनि काठमाडौंबाट थप सामग्री जुटाएर यो टोली नुवाकोट हुँदै रसुवातर्फ लागेको छ।

फिल्डमा पुग्दा स्थानीय बासिन्दाले सरकारी राहत समयमै पाउन नसकेको गुनासो गरेको मरिचमानले बताए। सरकारले राहत सामग्री होल्डिङ सेन्टरमा थुपारेर मात्र नहुने भन्दै उनले एकद्वार नीतिको सट्टा तत्काल ‘बहुद्वार प्रणाली’ अपनाएर भए पनि पीडितको हातमा राहत पुर्याउनुपर्ने सुझाव दिए।

“आपत्कालीन अवस्थामा ढोकाबाट निस्कन सकिएन भने झ्यालबाट भए पनि बाहिर निस्किनुपर्छ। या त ढोका नै फोर्नुपर्छ। तर, ढोकाबाटै मात्र निस्किन्छु भनेर बस्यो भने झन् ठूलो विपत्ति आउन सक्छ,” एकद्वार प्रणालीको झन्झटिलो प्रक्रियाप्रति कटाक्ष गर्दै उनले भने, “सरकारले राहत सामग्री होल्डिङ सेन्टरमा मात्रै राखेर हुँदैन, तत्काल प्रभावित परिवारको आँगनसम्म पुर्याउनुपर्छ।”

मरिचमानका अनुसार सामाजिक सञ्जालमा राहत अभियानबारे जानकारी दिएपछि नुवाकोटका विभिन्न ठाउँका साथै गल्छी र उत्तरगयाबाट समेत पीडितहरूले राहत ल्याइदिन निरन्तर फोन गरिरहेका छन्।

यसपटक टोलीले विस्थापित परिवारका लागि अत्यावश्यक तर धेरैले ध्यान नदिएको सामग्रीसमेत जुटाएको छ।

“हामीसँग करिब एक सय परिवारलाई पुग्ने भाँडाकुँडा र कुकर छन्। खाद्यान्न र लुगाफाटा पनि प्रशस्तै छ,” उनले भने, “यसका साथै धेरैको आँखा नपुगेको तर बाढीपीडितलाई सबैभन्दा बढी खाँचो परेको महिला र पुरुषका भित्री वस्त्रहरू (अन्डरवेयर) समेत हामीले ठूलो सङ्ख्यामा जुटाएर लैजाँदै छौँ।”

राहत वितरणको दोस्रो चरणअन्तर्गत टोली अहिले रसुवाको उत्तरगया गाउँपालिकातर्फ प्रस्थान गरेको छ। टोलीमा ‘बल्छी धुर्बे’सँगै सुरज चापागाईं ‘बान्द्रे’, कृष्ण सिवाकोटी, पूजन घिमिरे ‘पुकु’ लगायतका कलाकारहरू छन्।

स्थानीय स्तरमा खगेन्द्र पोखरेलले राहत वितरणको समन्वय गरिरहेका छन्। प्राकृतिक विपद्को यो कठिन घडीमा आफूहरूले सकेको मानवीय सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने कलाकार टोलीले जनाएको छ।

भदौ १८, २०८३ बिहीबार १३:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।