बाढी प्रभावित तीन जिल्लामा आज पनि वर्षाको सम्भावना, राति सतर्क रहन आग्रह
काठमाडौं : भोटेकोशी बाढीबाट गम्भीर प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा आज बिहीबार मध्यमस्तरको वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले दिउँसोको तुलनामा रातिको समयमा ती क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसोको समयमा भारी वर्षाको जोखिम कम रहे पनि रातको समयमा मौसम प्रतिकूल बन्न सक्छ।
‘आज दिउँसो यी जिल्लामा मध्यम वर्षा हुने देखिन्छ, भारी वर्षाको सम्भावना न्यून छ,’ मौसमविद् अधिकारीले भने, ‘तर, रातिको समयमा भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आवश्यक छ।’
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ। मनसुन विशेषगरी मध्यदेखि पश्चिमी भूभागमा बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार आउने सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। निरन्तरको वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने र बाढी-पहिरोको जोखिम रहने भएकाले तटीय क्षेत्र तथा विपद् प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।
भदौ १८, २०८३ बिहीबार १०:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।