बेपत्ताका परिवारको रगत संकलन सुरू, विदेशमा भएका आफन्तले यसरी लिइने
चितवन : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको खोजीका लागि डिएनए परीक्षणको प्रक्रिया सुरू गरिएको छ।
जिउँदै भेटिने आस मारिसकेका परिवारजन अहिले डिएनए परीक्षणमार्फत कम्तीमा शव भए पनि पहिचान हुने झिनो आशमा छन्।
बेवारिसे अवस्थामा भेटिएका शवहरूको पहिचान गर्न मंगलबारदेखि भरतपुर महानगरपालिका-१० स्थित चितवन उद्योग संघको परिसरमा बेपत्ताका आफन्तहरूको रगतको नमुना संकलन भइरहेको छ।
यो अभियान जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।
‘लास भए पनि भेटिन्छ कि!’
बाराको कलैयाबाट आएका भगवान शर्मा छोरा हराएपछि सम्भावित सबै ठाउँमा भौँतारिए। कहीँ पत्तो नलागेपछि डिएनए परीक्षणबाट पहिचान हुन सक्ने थाहा पाएर उनी नागरिकता र फोटो बोकी चितवन आइपुगेका छन्।
डिएनएका लागि रगतको नमुना दिए पनि उनको मन भने अझै मानिरहेको छैन। ‘यदि शव नै रहेछ भने पनि पहिचान त होला भनेर रगत दिएँ, तर मनको कुनामा छोरा जिउँदै पो छ कि भन्ने आश अझै मरेको छैन’, उनले भावुक हुँदै भने।
बर्दियाका रामबहादुर थारूको पीडा पनि उस्तै छ। छोरासहित १६ जना साथी बाढीमा हराएपछि उनी भदौ ११ गतेदेखि नै चितवनमा छन्। धेरै शव हेर्दा पनि छोरालाई नभेटेपछि उनले डिएनए म्याचिङका लागि रगत दिएका छन्।
‘सासको आश मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डिएनएको लागि रगत दिएको हुँ’, थारूले आफ्नो पीडा पोखे। छोराले काम गर्ने कम्पनीको सहयोगमा घटनास्थलसम्म पुगेर आफैँ खोज्ने उनको धोको छ। ‘कम्पनीले घटनास्थलसम्म जाने व्यवस्था मिलाइदिए हुन्थ्यो’, उनले भने।
कसरी हुन्छ डिएनए म्याचिङ ?
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार, बाढी प्रभावित क्षेत्रबाट निकालिएका पहिचान नखुलेका शवहरूबाट डिएनए नमुना निकालिसकिएको छ।
अब आफन्तबाट सङ्कलित रगतको नमुनासँग ती शवको डिएनए मिलान गराइनेछ। सङ्कलित नमुना थप परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइने उनले जानकारी दिए।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले बेवारिसे शवको दाँत र हड्डीबाट डिएनए प्रोफाइल तयार पारिने बताए।
‘सफ्टवेयरमार्फत आफन्तको डिएनएसँग म्याचिङ गराइन्छ,’ उनले भने, ‘यसका लागि पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको रगत आवश्यक पर्छ। यदि उनीहरू उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुनाबाट पनि परीक्षण गर्न सकिन्छ।’
यसरी दिन सकिन्छ नमुना
नेपाल प्रहरीले पहिचान नभएका र बेवारिसे अवस्थामा रहेका शवलाई आफन्तको जिम्मा लगाउन स्वदेश तथा विदेशमा रहेका परिवारलाई डिएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
चितवनबाहिर रहेका आफन्तले आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालय वा काठमाडौंको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याबमा दुई प्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी रगतको नमुना दिन सक्नेछन्।
विदेशमा रहेका पहिलो तहका नातेदारले सम्बन्धित देशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग वा आफू बसेकै देशको प्रयोगशालामा डिएनए प्रोफाइल तयार गरी त्यसको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउन सक्नेछन्।
भदौ १८, २०८३ बिहीबार १०:१६:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।