चपली-देवीघाट सर्किट चार्ज, नुवाकोटको ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित
काठमाडौं : भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको नुवाकोट र रसुवा जिल्लाको विद्युत् प्रणाली विस्तारै सुचालु भइरहेका छन्।
चपली-देवीघाट दायाँ सर्किट चार्ज भएसँगै जिल्लाको करिब ९० प्रतिशत भूभागमा विद्युत् आपूर्ति पुनःस्थापित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
पछिल्लो विवरणअनुसार हाल सञ्चालनमा आएको प्रणाली पहिलेको तुलनामा थप भरपर्दो हुनुका साथै भोल्टेजको गुणस्तरमा समेत उल्लेखनीय सुधार आएको छ।
यसअघि भोल्टेजमा सुधार नआउँदा स्थानीयले कुटानीपिसानी मिल सञ्चालन गर्न पाएका थिएनन् भने जिल्लाको एकमात्र सरकारी अस्पताल त्रिशूली अस्पतालमा सिटीस्क्यान लगायतका ठूला उपकरण सञ्चालन हुन सकेका थिएनन्।
कहाँ-कहाँ बल्यो बिजुली?
पछिल्लो समय थप ३१ वटा ट्रान्सफर्मर चार्ज गरिएसँगै जिल्लाका मुख्य बस्तीहरूमा बिजुली सञ्चालनमा आएको छ। जसअन्तर्गत विदुर नगरपालिकाको वडा नं. ६, वडा नं. १२ को बाँकी क्षेत्र र वडा नं. ३ को करिब आधा भूभागमा सेवा पुनः सुरु भएको छ।
यस्तै, तारकेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ५ र ६ तथा बेलकोटगढी नगरपालिका–७ मा विद्युत् आपूर्ति नियमित भएको छ।
हाल जिल्लाको करिब १० प्रतिशत क्षेत्रमा मात्रै विद्युत् सञ्चालन हुन बाँकी रहेको छ।
किस्पाङ गाउँपालिकाका साथै विदुर नगरपालिकाको वडा नं. १० र ३ को केही भाग, तारकेश्वर-४ र बेलकोटगढी-८ मा विद्युत् पुनःस्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ। ती क्षेत्रमा पनि छिट्टै बिजुली बाल्ने गरी प्राविधिक टोलीले काम गरिरहेको सचिवालयले जनाएको छ।
मुख्य प्रसारण लाइनहरू सक्रिय
जिल्लाको विद्युत् सञ्जाललाई प्रभावकारी बनाउन प्रमुख प्रसारण मार्गहरू सञ्चालनमा ल्याइएको छ।
६६ केभी चपली-देवीघाट-१ र २ बाट त्रिशूली नदी पारीक विदुर, तथा किस्पाङतर्फ आपूर्ति मिलाइएको छ भने ६६ केभी बालाजु-त्रिशूली-१ र २ मार्फत चौघडा र समुन्द्रटार सबस्टेशन हुँदै नुवाकोटका केही भाग र रसुवाको धुन्चे, नौकुण्ड तथा कालिका गाउँपालिकातर्फ बिजुली पठाइएको छ।
धादिङबेँसी-रातमाटे ३३ केभी मार्फत रातमाटे सबस्टेशनलाई धादिङबेँसीबाट आएको ३३ केभी लाइनमार्फत चार्ज गरी प्रणालीलाई थप मजबुत बनाइएको प्राधिकरणको दाबी छ।
भदौ १८, २०८३ बिहीबार ०७:३७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।