रविले बोलाए रास्वपा सचिवालय बैठक
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ।
पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक घटनाक्रम र प्राकृतिक विपद्को पछिल्लो अवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन्।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहीबार विहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय (घन्टीघर) मा बस्नेछ।
बैठकमा मुख्यतया देशको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिका विषयमा छलफल हुनेछ।
त्यसैगरी, भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोट लगायतका क्षेत्रमा पुर्याएको भौतिक तथा मानवीय क्षति र त्यसमा सरकारले गरिरहेको उद्धार तथा राहत कार्यको समीक्षा बैठकको प्रमुख एजेन्डा रहेको छ।
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थितिलाई प्रभावकारी बनाउन पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा पनि सचिवालय बैठकमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए।
भदौ १८, २०८३ बिहीबार ०७:२०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।