चीनले केरुङको नेपाल सीमा नजिकै बनायो सडक, खोजी र उद्धारमा २ हजार परिचालित
एजेन्सी: हिम पहरीकोका कारण आएको बाढीले ध्वस्त बनाएको नेपालको रसुवा नाका नजिकै चीनले बाटो खोलेको छ। चीनले केरुङतिरबाट तिब्बतस्थित चीन-नेपाल सीमाको केरुङ बन्दरगाह नजिकै बाटो पूर्याएको हो।
सिन्ह्वाका अनुसार सीमा बन्दरगाहमा गएको बाढीमा परेर १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५ सय ४६ जना अझै बेपत्ता छन्। बेपत्ता भएकाहरूमा २३ देशका कुल २ सय ६१ जना विदेशी नागरिक छन्।
तिब्बतमा उद्धार कार्य जारी छ। सँगै केरुङ बन्दरगाहसम्मको सडक सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको छ। सार्वजनिक तस्बिरमा सडक मार्ग बन्दरगाह नजिकै पुगेको देखिन्छ।
आपत्कालीन उद्धार मुख्यालयका उपप्रमुख तथा सिगात्से शहरका कार्यवाहक मेयर नोर्बु छिरिङका अनुसार चीन-नेपाल सीमाको बन्दरगाह जोड्ने जी-२१६ राष्ट्रिय राजमार्ग मर्मत गर्न करिब ७ सय कर्मचारी परिचालन गरिएको छ।
सिन्ह्वाका पत्रकारहरूले अवलोकन गरेको ड्रोन फुटेज अनुसार मंगलबार साँझ ६ बजेसम्म उद्धार टोलीले राजमार्गलाई आंशिक रूपमा मर्मत गरिसकेका छन्, जसले खोज तथा उद्धारका गाडीहरू बन्दरगाहबाट करिब ७ सय मिटरको दूरीसम्म पुग्न सक्ने बनाएको छ। खोजी र उद्धारमा २ हजारभन्दा बढी जनशक्ति खटिएका छन्।
मंगलबार विज्ञ टोलीले गरेको मूल्याङ्कन अनुसार केरुङ बन्दरगाहमाथिको कृत्रिम ताल पूर्ण रूपमा खाली गरिएको छ र त्यससँग सम्बन्धित जोखिमहरू अहिले नियन्त्रणमा आएको समाचारमा उल्लेख छ।
भदौ १७, २०८३ बुधबार २०:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।