‘सरकार प्रचारमा अल्झियो, पीडितसम्म पुग्न सकेन’ - कांग्रेस सांसद भीष्मराज आङ्देम्बे

‘सरकार प्रचारमा अल्झियो, पीडितसम्म पुग्न सकेन’ - कांग्रेस सांसद भीष्मराज आङ्देम्बे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रसुवा बाढीपछि सरकार सामाजिक सञ्जाल र प्रचारबाजीमा मात्रै सीमित भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आङ्देम्बेले बाढी प्रभावित क्षेत्रमा समयमै उद्धार र राहत पुर्याउन नसकेको भन्दै सरकारको आलोचना गरे।

उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था भयावह रहेको र पीडितहरू उद्धारको पर्खाइमा छटपटाइरहेको बताए।

"स्थलगत अवलोकन र उद्धारको पर्खाइमा रहेका पीडित परिवारको क्रन्दन सुनेपछि सदनमा भन्न बाध्य भएको छु- सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिममा परेका समुदायसम्म समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउनभन्दा प्रचार मिलाउन लाग्यो। फिल्डमा भन्दा फेसबुकमा धेरै देखियो।"

नेता आङ्देम्बेले २०७२ सालको विनाशकारी भूकम्पका बेला तत्कालीन कांग्रेस सरकारले तत्कालै अन्तर्राष्ट्रिय सहयोग जुटाएको स्मरण गराए।

"३४ देशका ७६ खोज तथा उद्धार टोली आएका थिए। हामीले त्यो अनुभवबाट धेरै कुरा सिक्न सक्थ्यौं,"आङ्देम्बेले भने, "त्यो सरकार कांग्रेसको नेतृत्वमा थियो भन्दैमा सिक्न नहुने त पक्कै थिएन होला। सरकारले संसद्लाई यसको जवाफ दिनुपर्छ।"

विगतका अनुभवबाट सिक्नुपर्नेमा वर्तमान सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै उनले तत्कालीन सरकार कांग्रेसको नेतृत्वमा भएका कारण सिकाइ र सहयोग लिन संकोच मान्न नहुने टिप्पणी गरे।

समन्वयको अभाव र ‘सुरुङ’ उद्धारमा आपत्ति
सरकारले उद्धारका क्रममा स्थानीय सरकार, सम्बन्धित जलविद्युत् आयोजना, निजी क्षेत्र र प्राविधिक विज्ञहरूसँग समन्वय नगरेको, सरकारले आफैँ ठोस कदम नचालेको र अरूलाई पनि काम गर्न नदिएको आङ्देम्बेले आरोप लगाए। 

घटनाको सात दिन बितिसक्दा पनि उद्धार हुन नसकेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, "सात दिन बितिसकेपछि सरकारले हात उठाएर ‘सुरुङभित्र आफैँ खोज’ भन्नु कस्तो संवेदनशीलता र जिम्मेवारी हो? यो असंवेदनशीलता र ढिलाइका कारण सुरुङभित्र भएका मृत्युहरू साधारण मृत्यु हुन् कि हत्या?"

बेपत्ताको खोजी, पीडितलाई राहत, विस्थापितको सुरक्षित व्यवस्थापन र पुनर्निर्माणलाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले भने, "यो राजनीतिक सङ्ख्या खोज्ने समय होइन, सम्पूर्ण राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो।"

भदौ १७, २०८३ बुधबार १५:१९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।