सुरक्षा निकायको प्रशंसा गर्दै कांग्रेसले भन्यो- सुरुङ उद्धारमा सरकारको अदूरदर्शिता र अकर्मण्यता देखियो

सुरक्षा निकायको प्रशंसा गर्दै कांग्रेसले भन्यो- सुरुङ उद्धारमा सरकारको अदूरदर्शिता र अकर्मण्यता देखियो

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्न सरकारले ढिलाइ गरेको बताएको छ।

पार्टीका उपसभापति एवं नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकहरूको उद्धारमा सरकारले गम्भीर ढिलाइ, अदूरदर्शिता र अकर्मण्यता देखाएको भन्दै आक्रोश व्यक्त गरेको छ।

बैठकले बाढीपछिको उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती कर्मचारीहरूको भूमिकाप्रति उच्च
सह्राहना र सम्मान व्यक्त गरेको छ। तर, सुरुङभित्र फसेका नागरिकलाई जोगाउन सरकारले समयमै प्रभावकारी पहल नगरेको कांग्रेसको आरोप छ। नेपालको क्षमता र विज्ञताले नभ्याउने अवस्था भए तत्काल अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिनुपर्नेमा सरकारले त्यसतर्फ ढिलाइ गरेको कांग्रेसको निष्कर्ष छ।

उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रतिष्ठानले भनेको छ, "सुरूङभित्र कयौं होनहार इञ्जिनियर र मेहनती श्रमिकहरू फसेको संवदेशनशील खबरसँग पूरै संसार सुसूचित थियो। हाम्रो क्षमता र विज्ञताले भ्याउन नसक्दा तत्कालै संसारको पल्लो कुनाबाट विज्ञ सहयोग लिएर शुरुवाति २/३ दिनभित्र त्यहाँ फसेकाहरूको उद्धार गर्नु जिम्मेवार सरकारको कर्तव्य थियो तर अन्तर्राष्ट्रिय सहयोग लिन नचाहने, लिन ढिलाइ गर्ने अनि जलविद्युत आयोजनाका प्रवद्र्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्वारको अनुमति नदिने जे व्यवहार सरकारले गर्यो, यो गलत मात्र होइन, अन्ततः अमानवीय प्रमाणित हुँदैछ।"

प्रतिष्ठानले सुरुङभित्र फसेका नागरिकहरूको अविलम्ब उद्धार र उचित निकासका लागि सरकारसँग माग गरेको छ।

प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सुरुङ प्रकरणमा सरकारको आलोचना गरे पनि विपद्को यस घडीमा राजनीतिक विमतिभन्दा माथि उठेर उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सरकारलाई हरसम्भव सघाउने जनाएको छ।

यसका लागि प्रतिष्ठानले निर्माण गरेको 'स्ट्राटिजिक रेस्पोन्स टिम' (एसआरटी) मार्फत सरकारी निकायहरूसँग समन्वय गरी कार्यक्षेत्रमा खटिने जनाइएको छ। साथै, सरकारले स्थापना गरेको विपद् कोषमा पार्टीका तर्फबाट १ करोड रुपैयाँ बुझाउने निर्णयअनुसार प्रतिष्ठानका सदस्यहरूबाट रकम सङ्कलन प्रक्रिया सुरु भइसकेको कांग्रेसले जनाएको छ।

 

भदौ १७, २०८३ बुधबार १४:३३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।