भोटेकोशी बाढी सिंगो देशको छातीमा परेको बज्रपात हो : प्रधानमन्त्री बालेन

भोटेकोशी बाढी सिंगो देशको छातीमा परेको बज्रपात हो : प्रधानमन्त्री बालेन

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष जिम्मेवारीसहित रोस्ट्रममा उभिएका प्रधानमन्त्री शाहले बाढीपछिको अवस्था, उद्धार तथा राहतबारे संसद्लाई जानकारी गराउँदै उक्त कुरा बताएका हुन्।

‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै धेरैका आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’

शोक मनाउने र विश्राम लिने समय छैन
विपद्को यो कठिन घडीमा सरकार पछि नहट्ने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट कसैलाई नभएको बताए।

‘मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने र शोक मनाउने समय हामीलाई छैन,’ उनले भने, ‘संकटको यो घडीमा देशको नेतृत्वले जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ। यो विपत्तिसँग लड्नुको विकल्प हामीसँग छैन, हामी लडिरहेका छौँ।’

उनले विपद्को समयमा सबै राजनीतिक दल र नागरिकलाई एकजुट भएर सामना गर्न आग्रह समेत गरे।

१ हजार ११४ को शव फेला, ११ हजारको उद्धार
संसद्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले बाढीमा परी हालसम्म १ हजार ११४ जनाको शव फेला परिसकेको जानकारी दिए।

तथ्यांकअनुसार बाढीका कारण रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६ र तनहुँमा ३८ जनाको मृत्यु भएको छ। नदी तटीय तल्लो क्षेत्रतर्फ चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।

प्रधानमन्त्रीका अनुसार बाढीबाट ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्।

हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।

सुरुङ उद्धारमा तीन देशका विशेषज्ञ
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको र तिनको पुनर्निर्माणमा ठूलो खर्च लाग्ने संसद्लाई जानकारी गराए।

क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र फसेका तथा सम्पर्कविहीन भएका कर्मचारी र मजदुरको खोजी कार्य निरन्तर जारी रहेको उनले बताए।

‘सुरुङमा फसेका मानिसको खोजी र उद्धारका लागि अहिले भारतीय, चिनियाँ र कोरियन विशेषज्ञ टोली परिचालन भइरहेको छ’, प्रधानमन्त्री शाहले भने।

राहत कोषमा ६ अर्बभन्दा बढी मौज्दात
राहत तथा पुनर्स्थापनाका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको बताउँदै प्रधानमन्त्री शाहले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र राहत कोषमा हाल ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको जानकारी दिए।

यसका साथै, विदेशी मित्रराष्ट्र तथा दातृ निकायहरूबाट समेत सहयोग प्राप्त भइरहेको र बुधबारसम्म थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर कोषमा जम्मा भएको उनले बताए।

भदौ १७, २०८३ बुधबार १३:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।