बाराबाट ११ वर्षीय बालकको अपहरण गरी भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

बाराबाट ११ वर्षीय बालकको अपहरण गरी भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ
फाइल तस्बिर

बारा : बाराको विश्रामपुरबाट एक ११ वर्षीय बालकको अपहरण गरी भारतमा लगेर हत्या गरिएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोही गाउँका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विश्रामपुर गाउँपालिका-३, मुसहर्वाका ११ वर्षीय राजेश कुमार साह भदौ ९ गते बिहान ९ बजेदेखि हराएका थिए। परिवारले सोही दिन बेलुका प्रहरी चौकी मुसहर्वामा खबर गरेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।

खोजीकै क्रममा भदौ ११ गते बिहान साढे १० बजे भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको नुनियाडि पञ्चायत वडा नम्बर १ मा पर्ने सिंहा नदीको किनारमा बालकको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेका अनुसार, घटनाको अनुसन्धानका क्रममा संकलित सिसिटिभी फुटेज, स्थानीयको भनाइ र भारतीय प्रहरीसँगको समन्वयबाट हत्यामा १७ वर्षीय किशोरको संलग्नता पुष्टि भएको हो।

अभियुक्त १७ वर्षका मात्र भएकाले प्रहरीले उनको वास्तविक नाम गोप्य राख्दै परिर्वतित नाम ‘जिल्ला ३३ (ए)’ राखेको छ। ती किशोरले राजेशलाई विश्रामपुरबाट अपहरण गरी भारतको उक्त स्थानमा पुर्याएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी घलेले जानकारी दिए।

पक्राउ परेका किशोरविरुद्ध ‘अपहरण र कर्तव्य ज्यान’ कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भदौ १७, २०८३ बुधबार ११:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।