रसुवा र नुवाकोटमा मध्यान्हपछि वर्षाको सम्भावना, राति परेको पानीले टनेलको पानी तान्ने पम्प पनि डुबायो

रसुवा र नुवाकोटमा मध्यान्हपछि वर्षाको सम्भावना, राति परेको पानीले टनेलको पानी तान्ने पम्प पनि डुबायो

काठमाडौं : भोटेकोशी बाढी प्रभावित क्षेत्रहरूमा बुधबार अपराह्नपछि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ तथा आसपासका क्षेत्रमा वर्षा हुने सम्भावना रहेको हो।

लगातारको वर्षाका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार रातभर परेको पानीका कारण टनेलभित्र बाढी पसेर पानी तान्ने पम्पसमेत डुबेको छ।

‘बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ। टनेलभित्र पानी भरिएर पम्प डुबेपछि सुरक्षाकर्मीहरूले त्यसलाई निकालेर पानी फाल्ने प्रयास गरिरहेका छन्’, डा. उप्रेतीले भने।

आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेकाले उद्धार तथा व्यवस्थापन कार्यमा थप जटिलता आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको प्राधिकरणले जनाएको छ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नोस्यामपाटीस्थित मापन केन्द्रमा ६०.२ मिलिमिटर मापन भएको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।

विभागका अनुसार आज दिउँसो र राति देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

साथै, पहाडी तथा तराईका अन्य भूभागमा समेत मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

भदौ १७, २०८३ बुधबार ०९:१६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।