भोटेकोशी बाढी : पोखरा ल्याइएका २१ शवको सनाखत, पहिचान नखुलेका ७६ शवको सुरक्षित व्यवस्थापन
पोखरा : रसुवास्थित भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा फेला परेका १०२ शवमध्ये २१ वटाको सनाखत गरी परिवारलाई बुझाइएको छ।
बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकाबाट संकलन गरी परीक्षणका लागि पोखरा ल्याइएका शवमध्ये पहिचान हुन नसकेका ७६ वटा शवलाई भने सुरक्षित तवरले व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। बाँकी ५ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएका छन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिचान नखुलेका ७६ शवलाई पोखरा-१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो। ती शवहरू नवलपरासीबाट २५, धादिङबाट २२, तनहुँबाट २२ र गोरखाबाट ७ वटा प्राप्त भएका थिए।
लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलिनुका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा व्यवस्थापन गरिएको बरालले जानकारी दिए।
‘व्यवस्थापन गरिएका सबै शवको डिएनए सुरक्षित राखिएको छ,’ उनले भने, ‘भविष्यमा परिवारको डिएनए मिलेको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी पहिचान पुष्टि गरिनेछ।’
शव व्यवस्थापन गर्दा गहिरो खाडल खनेर हावा नछिर्ने प्लास्टिकको झोलामा सङ्केत नम्बर सहित माटोले पुरिएको छ। पछि पहिचान गर्न सहज होस् भनी प्रत्येक शव पुरिएको स्थानमा सङ्केत नम्बर अंकित ‘स्ट्यान्ड’ र गमला राखिएको प्रशासनले जनाएको छ।
प्रतिष्ठानको शवगृहमा रहेका ५ वटा शवमा भने एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेका कारण थप प्राविधिक परीक्षण भइरहेको छ।
भदौ १७, २०८३ बुधबार ०७:१३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।