तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार
त्रिवेणी : रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका-४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित मंगलबार दुई जनालाई बगाएको छ।
खोलाले बगाएका मोटरसाइकल पछाडि सवार १८ वर्षीय प्रवीण बस्नेतको सकुशल उद्धार गरिएको छ भने मोटरसाइकल चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झवीन्द्र परियारले जानकारी दिए।
उनका अनुसार खलङ्गाबाट कुनाखेत हुँदै स्यार्पुतालतर्फ जाँदै गरेको रा६प १६१८ नम्बरको मोटरसाइकल तिल्चा खोला पार गर्ने क्रममा एक्कासि चिप्लिएर खोलामा बगेको थियो।
मुसिकोट नगरपालिका-४ सोलाबाङ निवासी १८ वर्षीय प्रशान्त सन्यासीले मोटरसाइकल चलाएका जनाउँदै मोटरसाइकलको पछाडि रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ का १८ वर्षीय प्रवीण बस्नेत सवार रहेका उनले बताए।
मोटरसाइकल चिप्लिएपछि चालक सन्यासी र पछाडि सवार बस्नेतलाई खोलाले बगाएको थियो। बस्नेतलाई खोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा फेला परेपछि सकुशल उद्धार गरिएको प्रहरी निरीक्षक परियारले उल्लेख गरे। मोटरसाइकलसहित चालक प्रशान्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमले जनाएको छ।
भदौ १६, २०८३ मंगलबार २२:३३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।