‘बाढीको चेतावनी दिन माइकिङमा खटिएका ६ सुरक्षाकर्मी नै बगे’

‘बाढीको चेतावनी दिन माइकिङमा खटिएका ६ सुरक्षाकर्मी नै बगे’

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकप्टरसहित राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालन गरिएको बताएका छन्।

मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै उनले कठिन परिस्थितिका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार कार्य गरिरहेको बताए। घटनास्थलमा दलदलका कारण सुरक्षाकर्मीलाई उद्धार कार्यमा कठिनाइ भइरहेको उनको भनाइ छ।  

उद्धारका कार्यमा ढिलाइ भएको गुनासोप्रति प्रतिक्रिया दिँदै गुरुङले भने, "यहाँ दलदल छ, दलदलमा कसरी गएर गर्ने भन्ने अवस्था छ। त्यै पनि क्रस गर्दै जानुहुन्छ। गएपछि बडी तानेर ल्याउनुपर्यो, दलदलमा फसिएला भन्ने अर्को डर छ। यस्तो हुँदाहुँदै पनि हाम्रा सुरक्षाकर्मीहरूले काम गरिरहनुभएको छ।"

बाढीबाट भएको क्षतिको स्तर अत्यन्त ठूलो रहेको उनले बताए। पूर्व सूचना प्रणालीमार्फत करिब ९:५० बजे बाढीबारे सबैलाई सन्देश पठाइएको र त्यसपछि सुरक्षाकर्मी परिचालन गरी नदी किनार तथा करिडोर क्षेत्रमा माइकिङ गरिएको उनको भनाइ छ। माइकिङ गर्ने क्रममा ६ जना सुरक्षाकर्मीसमेत बाढीमा बगेको उनले जानकारी दिए।

सुरक्षाकर्मी पनि नेपाली नागरिक भएको भन्दै गुरुङले उनीहरूको अवस्थाबारे समेत चासो दिन आग्रह गरे। "उहाँहरू सुरक्षाकर्मी भए पनि देशका नागरिक हुन्। कसैले उहाँहरूको अवस्था के छ, परिवारको अवस्था कस्तो छ भनेर सोधेको छैन। उहाँहरू पनि नेपाली नागरिक नै हुन्। त्यै पनि राज्यको ब्याकबोनको हिसाबले आफ्नो जिम्मेवारी पूर्ण रूपमा पालना गरिरहनुभएको छ," उनले भने। 

बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन राज्यका सबै संयन्त्र परिचालन गरिएको भन्दै उनले राज्य आफ्नो कर्तव्यबाट पछि नहट्ने बताए। यदि कुनै स्थानमा राहत नपुगेको भए सरकारलाई जानकारी गराउन उनको आग्रह  छ। 

"राहतका लागि हामीले सबै हेलिकप्टरको प्रयोग गरेका छौं। राज्य कुनै पनि आफ्नो कर्तव्यबाट पछाडि हट्ने वाला छैन। भएभरको संयन्त्र हामीले परिचालन गरेका छौं। राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा हामीलाई म्यासेज गरिदिनुहोला," उनले भने। 

भदौ १६, २०८३ मंगलबार १९:५७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।