भोटेकोशी बाढीपछि सडक–पुल पुनःस्थापनामा तीव्रता, ३१ पक्की र ५३ झोलुङ्गे पुलमा क्षति
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेका सडक तथा पुलहरूको तत्काल पुनःस्थापनाका लागि सडक विभागले तीव्र गतिमा काम अघि बढाएको छ। बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा सडक, पुल र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
प्रारम्भिक विवरण अनुसार बाढीका कारण करिब ६ हजार निजी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयसहित ४५ वटा सरकारी संरचनामा क्षति पुगेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन्। केही पुल पूर्णरूपमा बगेका छन् भने केही पुलका स्पानमा क्षति पुगेको छ।
क्षति पुगेका क्षेत्रमा विभागले करिब ५० जना प्राविधिक जनशक्ति (प्रथम श्रेणीका अधिकारी, सिनियर डिभिजनल इन्जिनियर, इन्जिनियर, अपरेटर तथा मेकानिकल टोली) परिचालन गरेको छ। दुर्गम र प्रभावित क्षेत्रको सर्वेक्षण गर्न हेलिकप्टरसमेत प्रयोग गरिएको छ।
सडक बोर्डको आकस्मिक बैठकले इन्धन, ग्राभेल तथा आपत्कालीन पुनःस्थापनाका लागि तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। थप आवश्यक रकम सम्बन्धित योजनामा विनियोजित बजेटबाट खर्च गर्ने सहमति भएको विभागले जनाएको छ ।
विभागले तत्कालका लागि देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा गरी तीन स्थानमा बेलीब्रिज निर्माणको काम अघि बढाएको छ। देवीघाटस्थित तादी खोला पुलमा ५० मिटर लामो बेलीब्रिज राख्न डिजाइन सम्पन्न भइसकेको छ भने बाँकी करिब २० वटा क्षतिग्रस्त पुल भएका स्थानमा फाउन्डेसन सर्वेक्षण भइरहेको छ।
सडक विभागले विभिन्न स्थानमा १५ भन्दा बढी निर्माण उपकरण परिचालन गरेको छ। बेत्रावती क्षेत्रमा सडक साँघुरो भएकाले हाल १४ वटा उपकरण सञ्चालनमा रहेको र अन्य उपकरणलाई जगेडामा राखिएको छ।
बाढीले पृथ्वी राजमार्गअन्तर्गत गल्छी, बैरेनी, जरीखेत, पोखरे, बाङ्गे र गलौंदी क्षेत्रमा ठूलो मात्रामा लेदो थुपार्दा सडक सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको थियो। जैसीका अनुसार कतिपय स्थानमा दुईदेखि तीन मिटरसम्म लेदो थुप्रिएको थियो। अत्यधिक बाक्लो लेदो सामान्य उपकरणबाट हटाउनसमेत कठिन भएको उनले बताए।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर र परेवाडाँडामा सडक क्षतिग्रस्त हुनुका साथै धादिङबेँसीतर्फको फुर्केखोला पुल भत्किएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको थियो।
विभागले पृथ्वी राजमार्गको मासटारबाट नेपालटार, गजुरीटार, पिपलटार, आदमटार हुँदै बेनीघाटबाट धादिङबेँसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ। उक्त सडकबाट धादिङबेँसीसँग सम्पर्क स्थापित भइसकेको विभागले जनाएको छ।
त्यसैगरी गल्छी, कल्लेरीटार, कौसीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म पुग्ने वैकल्पिक सडकसमेत सञ्चालनमा ल्याइएको छ।
नुवाकोटको विदुरदेखि बेत्रावती हुँदै धुन्चेसम्मको सडक सञ्चालनमा ल्याउन विभागले प्राथमिकताका साथ काम गरिरहेको छ।
विदुर–बेत्रावती करिब १० किलोमिटर सडकखण्डमध्ये ६ किलोमिटरभन्दा बढी सडक बाढीले पूर्णरूपमा बगाएको थियो। विभागले अहिले सडक खन्दै बेत्रावतीतर्फ करिब सात किलोमिटरसम्म पहुँच पुर्याएको जनाएको छ।
बेत्रावती क्षेत्रमा त्रिशूली नदी किनारबाट सडक निकाल्नुपर्ने भएकाले भर्टिकल कटिङ पूरा भएपछि बेत्रावतीमा बेलीब्रिज राखेर धुन्चेतर्फ यातायात सञ्चालन गर्ने तयारी छ।
हाल काठमाडौंको टोखाबाट छहरे, चौघडा पुल, आप्र पुल, समरथली र बोगटीटार हुँदै धुन्चेसम्म पुग्ने करिब ११० किलोमिटर लामो वैकल्पिक सडक प्रयोग भइरहेको छ।
कृष्णभीरमा बाढीका कारण दुई स्थानमा सडक कटान भएपछि यातायात सञ्चालनमा समस्या भएको छ। उक्त क्षेत्रमा सडकलाई भित्तातर्फ काटेर खोल्ने कि वैकल्पिक बाटो निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन भइरहेको छ।
५३ झोलुङ्गे पुलमा क्षति, ७५ करोडभन्दा बढी आवश्यक
पूर्वाधार विकास विभागका अनुसार बाढीले ५३ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। जसमध्ये २० वटा मर्मत गरेर २०-२५ दिनभित्र सञ्चालनमा ल्याउन सकिनेछ भने ३३ वटा पुल पूर्ण रूपमा पुनःनिर्माण गर्नुपर्नेछ।
झोलुङ्गे पुलको मर्मतका लागि १५ करोड, पुनःनिर्माणका लागि ६० करोड र ग्रामीण सडकका लागि ४० करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
भदौ १६, २०८३ मंगलबार १९:१२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।