अस्पतालको भित्तामा बाढीले खोसेका आफन्त खोजिरहेका मलिन आँखाहरू

अस्पतालको भित्तामा बाढीले खोसेका आफन्त खोजिरहेका मलिन आँखाहरू

काठमाडौं : काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका भित्ताहरुमा अहिले शोक र प्रतीक्षाका साक्षी बनेका छन्। भोटेकोशी नदीमा गत बुधबार आएको बाढीपछि संकलन गरिएका शव र हराएका सदस्य खोज्न अस्पताल पुग्ने परिवारजन पहिला भित्तामा टाँसिएका तस्बिरमा आफन्त खोज्छन्। अनि कतै फेला पार्न सकिन्छ कि भनेर भित्तामा आफन्तको फोटो टाँसेर हिँड्छन्। 

सरकारी तथ्यांक अनुसार मंगलबारसम्ममा ३ हजार नौ सय १६ जना सम्पर्कहिन छन्। घाइतेहरु अनि मृतकको शव काठमाडौंको विभिन्न अस्पतालहरुमा राखिएका छन्।

आफन्त खोज्दै काठमाडौं आउनेहरु अस्पतालको भित्तामा टाँसिएका फोटामा आफ्ना आफन्त खोज्छन्। अनि नचाहेरै भए पनि मृतकहरूका फोटोहरूमा आँखा डुलाउँछन्।

यही भिडमा भेटिए, सप्तरीका अनिलकुमार सिंह। उनी बाढीपछि सम्पर्कविहीन ३१ वर्षीय छोरा अभिषेक सिंहको खोजीका लागि शिक्षण अस्पताल परिसरमा भौँतारिइरहेका थिए। ठमेलस्थित एक ट्राभल कम्पनीमार्फत ६ जना भारतीयमूलका अमेरिकी पर्यटक लिएर तिब्बतको मानसरोवरतर्फ हिँडेका अभिषेक भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन छन्। 

अनिलका अनुसार सोही दिन बिहान ८:५४ बजेसम्म अभिषेकको लोकेसन नेपाल-चीन सीमानामा रहेको केरुङ अध्यागमन कार्यालयमा देखिएको थियो।

“त्यसयता कुनै खबर छैन,” उनी भन्छन्।

अनि उनी छोरा खोज्न अस्पतालहरु धाउन थाले। साथमा छोराको तस्बिर लिएर हिँडिरहेका उनी जहाँ पुग्छन् कतै खवर आइहाल्छ कि भनेर छोराको तस्बिरमा सम्पर्क नम्बर लेखेर टाँस्छन्। 

अनिलको जस्तै बाढीमा हराइरहेका आफन्तले अस्पतालको भित्तामा सूचना र फोटो टाँसेर जानकारीका लागि आग्रह गरिरहेका छन्। कतिपय फरेन्सिक विभागका चिकित्सक र सुरक्षाकर्मीसँग सोधखोज गरिरहेका देखिन्थे।

भित्तामा टाँसिएका शवका तस्बिरहरूमा आफन्तको अनुहार ठम्याउने प्रयास गरिरहेका परिवारजनको नमिठो दृश्यले वातावरण नै स्तब्ध र अन्योलपूर्ण बनाएको देखियो।

भदौ १० गते विनाशकारी बाढी आएको मंगलबार एक साता भयो। हप्ता दिन बितिसक्दा समेत बेपत्ता आफन्तबारे कुनै जानकारी नपाउँदा निरास अनुहारहरू भेटिए अस्पताल परिसरमा।  

बाढीका कारण ३ हजार नौ सय १६ जना हराइरहेका छन्। मृत्यु हुनेको संख्या साढे एक हजार नाघेको छ। प्रहरीको विवरणअनुसार ३७१ पुरुष, २३२ महिला, ३० बालक, ३५ बालिका र ३९० आंशिक अंग भएका शव फेला परेका छन्। जसमध्ये ९७२ शवको मुचुल्का भइरहेको छ भने पहिचान खुलेका ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। त्यस्तै पहिचान नखुलेका ६८४ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। 

भदौ १६, २०८३ मंगलबार १९:२४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।