भोटेकोशीमा नयाँ जलमापन केन्द्र स्थापना गर्न सुरु भयो स्थलगत अध्ययन

भोटेकोशीमा नयाँ जलमापन केन्द्र स्थापना गर्न सुरु भयो स्थलगत अध्ययन

काठमाडौं : गत बुधबार आएको विनाशकारी बाढीले भोटेकोशीमा रहेको स्वचालित जलमापन केन्द्र बगाएपछि नयाँ केन्द्र स्थापनाका लागि सम्भावित स्थानको खोजी सुरु भएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले नयाँ जलमापन केन्द्र राख्न भोटेकोशीमा सम्भावित स्थान पहिचान गर्न स्थलगत अध्ययन सुरु गरेको छ।

महाशाखाका बाढीविद् सौहार्द जोशीका अनुसार सम्भव भए रसुवागढी, स्याफ्रुबेँसी र बेत्रावती क्षेत्रमा जलमापन केन्द्र राख्ने विषयमा सम्भाव्यता अध्ययनका लागि टोली त्यस क्षेत्रमा पुगिसकेको छ।

“अहिले सम्भावित स्थानको अध्ययन गरिरहेका छौं। खोलाको नजिक र सुरक्षित तथा केही उचाइमा गरी दुई वटा जलमापन केन्द्र राख्ने विषयमा छलफल भइरहेको छ”, जोशीले भने।

उनका अनुसार हाल दुई वटा सम्भावित स्थान पहिचान गरी दुवै क्षेत्रको स्थलगत अवस्था हेरिँदै छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै जलमापन केन्द्र खोलाको सतहभन्दा केही माथि सुरक्षित स्थानमा राख्नुपर्ने देखिएको उनले बताए। 

बाढीविद् जोशीले नयाँ केन्द्रबाट इन्टरनेटमार्फत महाशाखालाई बाढीको अवस्था र जल सतहसम्बन्धी नियमित रूपमा तथ्याङक प्राप्त हुने व्यवस्था मिलाइने जानकारी दिए। बाढीको जोखिम तथा सम्भावित क्षतिको पूर्वानुमान गर्न लामो अवधिको बाढी पुनरावृत्ति सम्भावनालाई समेत ध्यानमा राखेर जलमापन केन्द्र स्थापनाको स्थान छनोट गरिने उनले बताए।  

भदौ १६, २०८३ मंगलबार १७:२२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।