रसुवा बाढी : सम्पर्कविहीनमध्ये भक्तपुरका ६ जना सम्पर्कमा, एक इन्जिनियरको मृत्यु

रसुवा बाढी : सम्पर्कविहीनमध्ये भक्तपुरका ६ जना सम्पर्कमा, एक इन्जिनियरको मृत्यु

भक्तपुर : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूमध्ये भक्तपुरका ६ जना सम्पर्कमा आएका छन्। 

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बाढीपछि भक्तपुर ठेगाना भएका १९ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा ६ जना सम्पर्कमा आएका हुन्।

बाढीमा परी भक्तपुरका इन्जिनियर सत्यसुन्दर प्रजापतिको भने मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार मृतक प्रजापतिको शव भदौ १२ गते फेला परेको हो।

यसैगरी, बाहिरी जिल्ला ठेगाना भई भक्तपुर प्रहरीमा सम्पर्कविहीन भएको भनी दर्ता भएका ५६ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने एक जनाको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

वातावरण संरक्षण समितिका अध्यक्ष समेत रहेका मृतक इन्जिनियर सत्यसुन्दरका मामा न्हुछेबहादुर प्रजापतिले बाढी आएको साता बितिसक्दा पनि धेरै नागरिक बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन सरोकारसँग आग्रह गरे। 

“बाढी गएको आज सात दिन भइसकेको छ, सरोकार भएका निकायले खोज तथा उद्धारलाई तीव्रता दिई नागरिकको सकुशल उद्धारमा जुट्न आग्रह गर्दछु”, उनले भने। 

भदौ १६, २०८३ मंगलबार १६:३०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।