भोटेकोशी बाढी : मृतकको संख्या हजार नाघ्यो, तीन हजार ९१६ जना अझै बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म एक हजार तीन पुगेको छ भने तीन हजार ९१६ जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो १ बजेसम्मको सार्वजनिक गरेको विवरणअनुसार हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ।
बाढीमा परेर ज्यान गुमाएकाहरूको सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र पश्चिममा १७० शव फेला परेका छन्। त्यस्तै रसुवामा ४१ र नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
बाढीका कारण तीन हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। जसमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना, जलविद्युत आयोजनाका ६३९, विदेशी नागरिक ५८३ जनासहित भन्सार, अध्यागमनका कर्मचारीहरू रहेका छन्।
त्यस्तै, रसुवा र नुवाकोटबाट मात्रै २ हजार ४७५ जना बेपत्ता भएका छन्। सरकारले खोज र उद्धारका लागि २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाले ५९२ पटक हवाई उडान गरी ३ हजार ५०९ नेपाली र २७३ विदेशीको उद्धार गरेको छ।
घाइते भएका २७९ मध्ये १६८ जना उपचारपछि घर फर्किएका छन्। त्यस्तै पहिचान नभएका शवहरू २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।
भदौ १६, २०८३ मंगलबार १५:३३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।