दलगत स्वार्थभन्दा माथि उठेर उद्धार र राहतमा जुट्न सांसदहरूको आग्रह
काठमाडौंं : राष्ट्रियसभाका सांसदहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थितिमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गरेका छन्।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरूले विपद् व्यवस्थापनका लागि राष्ट्रिय एकता र एकीकृत पहलमा जोड दिएका हुन्।
बैठकमा नेपाली कांग्रेसका कमला पन्तले यही भदौ १० गते भएको विपत्तिपछिको उद्धार प्रयासलाई अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गरीन् उद्धार र खोजका प्रयासबारे सरकारले संसद्मा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै उनले यति ठुलो प्राकृतिक विपत्तिको सामनाका लागि राष्ट्रिय एकता र साझा पहल हुनुपर्ने बताइन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र घेराभन्दा माथि उठेर लाग्नुपर्ने बताए। ठूला र धनी मुलुकले प्रकृतिमाथि गरेको दोहन र तापक्रम बढेका कारण यस्तो समस्या आएका विषयमा विश्व समुदायलाई बुझाउनुपर्नेमा जोड दिए। उनले घाइते र विस्थापितमध्ये पनि सुत्केरी र बालबालिकालाई बेग्लै ढङ्गले सुरक्षित स्थलमा राख्न सुझाव दिए।
एमालेका सांसद डा. प्रेमप्रसाद दङ्गालले आफूहरू विपद्मा परेका परिवारको साथमा रहेको जनाउँदै बेपत्ताहरूको खोजीका लागि युद्धस्तरमा लाग्न आग्रह गरे। उनले नदी तटमा अहिले पनि शवहरू यत्रतत्र छरिएर रहेको पाइएकाले तीनै तहका सरकारबीचको समन्वयन बढाएर काम गर्नुपर्ने बताए। उनले जलवायु न्यायको पहल गरी पृथ्वी र मानव सभ्यताको रक्षार्थ लाग्नुपर्ने बताए।
जनता समाजवादी पार्टीका सांसद महन्थ ठाकुरले छिमेकीलगायत विश्वस्तरबाट सहयोग लिएर विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बताए।
भदौ १६, २०८३ मंगलबार १४:३४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।