बाढीमा ज्यान गुमाएका विदेशी नागरिकको शव कसरी हस्तान्तरण गरिन्छ?
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव हस्तान्तरण तथा पहिचानका लागि नेपाल सरकारले तय गरेको प्रक्रिया काठमाडौंस्थित भारतीय दूतावासले सार्वजनिक गरेको छ।
दूतावासले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर शव पहिचान प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेको छ।
दूतावासका अनुसार मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा राखिएका शवका तस्बिर तथा विवरणका आधारमा शव पहिचान गर्न सक्नेछन्।
शव पहिचान र हस्तान्तरणका कानुनी चरणहरू
नेपाल सरकारका अनुसार विदेशी नागरिकको शव हस्तान्तरणका लागि निम्न प्रक्रियाहरू पूरा गर्नुपर्नेछ:
- शवसम्बन्धी कानुनी कागजात तयार गर्ने।
- शवको फोटो र अन्य विवरणहरू दर्ता गर्ने।
- पोस्टमार्टम जाँच गर्ने।
- मृत्युको कारण पुष्टि गर्ने।
- शवको औपचारिक पहिचान स्थापित गर्ने।
- फिंगरप्रिन्ट, डीएनए वा फरेन्सिक नमुना सङ्कलन गर्ने।
- मृतकको पासपोर्ट वा परिचयपत्र प्रमाणीकरण गर्ने।
- दूतावास वा कन्सुलर समन्वय पूरा गर्ने।
- शव हस्तान्तरण र भर्पाईको प्रक्रिया पूरा गर्ने।
यीमध्ये सुरुवाती चार चरणका कार्यहरू अर्थात् कागजात तयार गर्नेदेखि मृत्युको कारण पुष्टि गर्नेसम्म, नेपाल सरकारका अधिकारीहरूले पूरा गर्नेछन्। शव पहिचान भएपछि दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी शव भारत लैजाने प्रक्रियामा सहजीकरण गर्नेछ।
यदि आफन्त तथा परिवारका सदस्यले नेपाल प्रहरीको वेबसाइटमा राखिएका मृतकका तस्बिर र विवरणका आधारमा शव पहिचान गर्न सकेमा, काठमाडौंस्थित भारतीय दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी शव हस्तान्तरण तथा भारत पठाउने प्रक्रियामा सहयोग गर्ने जनाएको छ।
नेपाल सरकारले स्वास्थ्य जोखिम रोक्न ठूलो संख्यामा शवलाई अस्थायी रूपमा गाडेको दूतावासले जनाएको छ। यस्ता शवको पहिचानका लागि मृतकका प्रथम तहका आफन्तसँग डीएनए मिलान गर्नुपर्ने हुन्छ।
शव अस्थायी रूपमा गाडिएको अवस्थामा आफन्तले डीएनए प्रोफाइल वा रगतको नमुना पठाएर डीएनए मिलान गराउन सक्नेछन्।
दूतावासका अनुसार शवको पहिचान हुन नसकेको वा शव अस्थायी रूपमा गाडिएको अवस्थामा नेपाल सरकारले डीएनए मिलानको व्यवस्था गर्नेछ। नेपालका अधिकारीहरूले शवबाट डीएनए नमुना संकलन गरी उनीहरूको डीएनए प्रोफाइल तयार गरिरहेका छन्।
डीएनए मिलानका लागि मृतकका प्रथम तहका आफन्तले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन वा नेपाली अधिकारीहरूले माग गरेका प्रारम्भिक विवरणसहित रगतको नमुना उपलब्ध गराउन सक्नेछन्।
भारतीय दूतावासमार्फत सहजीकरण आवश्यक भएमा प्रथम तहका आफन्तको डीएनए प्रोफाइलको प्रतिलिपि पनि पठाउन सकिने दूतावासले जनाएको छ।
डीएनए प्रोफाइलिङसम्बन्धी थप विवरण नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध रहेको छ। साथै, यससम्बन्धी जानकारीका लागि नेपाल प्रहरीको हेल्पलाइन नम्बर ९८४१ ६१६० ९५ मा सम्पर्क गर्न सकिनेछ।
भदौ १६, २०८३ मंगलबार १४:०२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।