भोटेकोशी बाढीपीडितलाई गण्डकी सरकारको राहत : मृतक परिवारलाई १ लाख, घाइतेलाई ५० हजार र प्रधानमन्त्री कोषमा ४ करोड
पोखरा : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित गण्डकी प्रदेशका नागरिकलाई प्रदेश सरकारले राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत पीडित परिवारलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो।
बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई प्रतिपरिवार एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए।
यसअघि प्रधानमन्त्री राहत कोषमा चार करोड प्रदान गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले गरेको घोषणालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उनले बताए।
बाढीमा परी पोखरा आएका घाइते तथा बिरामी नागरिकलाई घरसम्म पुर्याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने प्रवक्ता शेरचनले बताए। बाढीमा परी विभिन्न अस्पतालमा उपचार गराइरहेका गण्डकी प्रदेशका घाइतेलाई ५० हजारका दरले सहयोग उपलब्ध गराइने प्रवक्ता शेरचनले जानकारी दिए।
यसैगरी बाढीमा परी ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई किरिया खर्चबापत प्रतिमृतक २५ हजार उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
भदौ १६, २०८३ मंगलबार १३:२५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।